काठमाडौं — पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध दर्ता भएको महाभियोग प्रकरणसम्बन्धी रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ। संवैधानिक इजलासले अन्तिम सुनुवाइपछि महाभियोगको औचित्य समाप्त हुने गरी रिट खारेज गरेको हो।
प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, विनोद शर्मा र शारङ्गा सुवेदी सम्मिलित संवैधानिक इजलासले रिट खारेज गर्ने निर्णय गरेको हो।
राणाविरुद्ध २०७८ फागुन १ गते प्रतिनिधिसभामा महाभियोग प्रस्ताव दर्ता भएको थियो। तर उक्त प्रस्ताव प्रतिनिधिसभाबाट पारित हुन सकेन। महाभियोग प्रस्ताव जीवितै रहेको दाबी गर्दै त्यसलाई प्रतिनिधिसभामा अघि बढाउनुपर्ने मागसहित सर्वोच्चमा रिट दायर भएको थियो।
संघीय संसद्का तत्कालीन महासचिव भरतराज गौतमले राणालाई निलम्बन फुकुवा भएको पत्र दिएपछि सर्वोच्च अदालत बारका तत्कालीन अध्यक्ष वरिष्ठ अधिवक्ता शाक्य, वरिष्ठ अधिवक्ता डा. पुण्यप्रसाद खतिवडा, अधिवक्ता कीर्तिनाथ शर्मा पौडेललगायतले छुट्टाछुट्टै रिट दायर गरेका थिए।
संवैधानिक इजलासले अन्तिम सुनुवाइपछि ती रिट खारेज गर्दै महाभियोग प्रकरणको औचित्य समाप्त हुने निष्कर्ष निकालेको हो।
यद्यपि, रिट खारेज गर्ने निर्णयको विस्तृत लिखित प्रति भने संवैधानिक इजलासबाट आउन बाँकी छ। लिखित फैसलापछि महाभियोगको औचित्य समाप्त हुने आधार तथा अदालतको विस्तृत कानुनी व्याख्या स्पष्ट हुनेछ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया