logo

२०८३ श्रावण १७ आईतवार

logo
  • २०८३ श्रावण १७ आईतवार
  • गोपाल कोइराला ‘त्यागी’को योगदानको सम्मान, ‘एउटा अथक योद्धा’ कृतिको विमोचन

    760Shares
    गोपाल कोइराला ‘त्यागी’को योगदानको सम्मान, ‘एउटा अथक योद्धा’ कृतिको विमोचन

    काठमाडौं । वरिष्ठ पत्रकार, साहित्यकार, सीमाविद् तथा समाजसेवी गोपाल कोइराला ‘त्यागी’को व्यक्तित्व, संघर्ष र योगदानमा आधारित कृति ‘एउटा अथक योद्धा गोपाल कोइराला “त्यागी”’ को आइतबार काठमाडौंमा एक विशेष समारोहबीच विमोचन गरिएको छ। बानेश्वर सर्जक समाजको आयोजनामा बागमती करिडोरस्थित बेस्ट वेस्टर्न प्लस, पिङ्गलास्थानमा आयोजित कार्यक्रममा ‘त्यागी’लाई विभिन्न साहित्यिक तथा सामाजिक संस्थाले अभिनन्दन तथा सम्मानसमेत गरेका छन्।

    समारोहका प्रमुख अतिथि नेपाल सरकारका पूर्वसचिव तथा जलस्रोतसम्बन्धी अध्येता श्री द्वारिकानाथ ढुंगेलले कृतिको विमोचन गर्दै गोपाल कोइराला ‘त्यागी’ले पत्रकारिता, साहित्य, सामाजिक चेतना, राष्ट्रिय सरोकार तथा सीमासम्बन्धी विषयमा पुर्‍याएको योगदान अनुकरणीय रहेको बताए। उनले यस्ता व्यक्तित्वको जीवनयात्रा पुस्तकमार्फत अभिलेखीकरण हुनु भावी पुस्ताका लागि महत्वपूर्ण दस्तावेज हुने उल्लेख गरे।

    कार्यक्रमको अध्यक्षता बानेश्वर सर्जक समाजका अध्यक्ष तथा वरिष्ठ साहित्यकार महेश प्रसाईँले गरेका थिए। विशेष अतिथिका रूपमा नेपाल सरकारका पूर्वसचिव तथा वरिष्ठ साहित्यकार गोपी मैनाली, वरिष्ठ इतिहासविद् तथा राजनीतिक विश्लेषक प्रा. डा. सुरेन्द्र के.सी., वरिष्ठ पत्रकार, समालोचक तथा राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल, वरिष्ठ साहित्यकार प्रा. डा. खेम कोइराला बन्धु (खेकोब), डा. हरि सिलवाल, डा. विनोद मञ्जन, ठाकुरप्रसाद शर्मा भण्डारी, युवराज मैनाली, ‘त्यागी’, पुस्तक प्रकाशक तथा पद्मा भागीरथा प्रकाशनकी अध्यक्ष किरण कोइराला ‘हमला’,को उपस्थिति रहेको थियो।

    कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रा. डा. खेम कोइराला बन्धु, ठाकुरप्रसाद शर्मा भण्डारी र युवराज मैनालीले गोपाल कोइराला ‘त्यागी’को साहित्यिक, सामाजिक तथा राष्ट्रिय सरोकारका क्षेत्रमा रहेको निरन्तर सक्रियताको प्रशंसा गरे। विशेष मन्तव्यका क्रममा प्रा. डा. सुरेन्द्र के.सी. ले समाज र राष्ट्रप्रति समर्पित व्यक्तित्वहरूको योगदानलाई दस्तावेजीकरण गर्नु समयको आवश्यकता भएको बताए। उनले यस्ता कृतिले इतिहास, साहित्य र समाजबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने धारणा व्यक्त गरे।

    समारोहमा विभिन्न साहित्यिक, सांस्कृतिक तथा सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूले गोपाल कोइराला ‘त्यागी’लाई अभिनन्दनपत्र, सम्मानपत्र तथा मायाको चिनो प्रदान गर्दै उहाँको दीर्घकालीन साहित्यिक, पत्रकारितामूलक तथा सामाजिक योगदानको उच्च मूल्यांकन गरेका थिए। नागार्जुन वाङ्मय प्रतिष्ठानका तर्फबाट प्रतिष्ठानका पूर्वअध्यक्ष रोजन राईले गोपाल कोइराला ‘त्यागी’लाई सम्मानपत्र प्रदान गरेका थिए।

    यस अवसरमा प्रा. डा. घमानसिंह खड्का, प्रा. डा. केदार न्यौपाने, प्रा. डा. विष्णु राई, शिवकुमार भट्टराई, डा. शोभेन्द्र प्रकाश नेपाल, हरिभक्त सिग्देल ‘महेश’, वामनप्रसाद न्यौपाने, विष्णु पन्तलगायतका साहित्यकार, शिक्षाविद् तथा विशिष्ट व्यक्तित्वहरूको पनि उपस्थिति रहेको थियो। साथै दायित्व वाङ्मय प्रतिष्ठान, मुक्तिनाथ दर्शन साहित्य समाज, विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठान, लहरा साहित्यिक त्रैमासिक, चेत स्मृति प्रतिष्ठान, लालित्य सिर्जना समाज, नोबेल साकोस साहित्य संस्था, वनिता त्रैमासिक र गोधुली कला साहित्य प्रतिष्ठानलगायत विभिन्न संस्थाका प्रतिनिधिहरूले कार्यक्रममा सहभागिता जनाउँदै गोपाल कोइराला ‘त्यागी’प्रति सम्मान व्यक्त गरेका थिए।

    कार्यक्रमको अन्त्यमा आयोजक बानेश्वर सर्जक समाजले स्रष्टाको योगदानको कदर गर्दै यस्ता कार्यक्रमले साहित्यिक व्यक्तित्वलाई सम्मान गर्नुका साथै नयाँ पुस्तामा साहित्यप्रतिको आकर्षण बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको थियो। समाजले आगामी दिनमा पनि नेपाली भाषा, साहित्य र स्रष्टाको सम्मानका लागि यस्ता सिर्जनात्मक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धतासमेत जनाएको छ। कार्यक्रमको सञ्चालन तेजेन्द्र प्रसाईँले गरेका थिए।

    कार्यक्रमका तस्वीरहरु-

     

     



    फास्ट न्युज    
  • २०८३ श्रावण १७, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट