logo

२०८३ श्रावण १७ आईतवार

logo
  • २०८३ श्रावण १७ आईतवार
  • ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका आरोहीप्रति नेपाल सरकारको श्रद्धाञ्जली, शव स्वदेश ल्याउन समन्वय तीव्र

    739Shares
    ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका आरोहीप्रति नेपाल सरकारको श्रद्धाञ्जली, शव स्वदेश ल्याउन समन्वय तीव्र

    काठमाडौं । पाकिस्तानस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिक आरोहणका क्रममा गएको भीषण हिमपहिरोमा परी ज्यान गुमाएका नेपाली तथा विदेशी आरोहीहरूप्रति नेपाल सरकारले गहिरो दुःख व्यक्त गरेको छ।

    परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै साउन १४ गते क्याम्प–२ बाट क्याम्प–३ तर्फ जाँदै गर्दा करिब ६ हजार ६ सय मिटर उचाइमा गएको विनाशकारी हिमपहिरोमा प्रख्यात नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’ सहित नेपाली आरोहीहरू पुरबहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा, ग्यालु शेर्पा तथा उनीहरूसँगै रहेका अन्तर्राष्ट्रिय आरोहण दलका सदस्यहरूको निधन भएको जनाएको छ।

    मन्त्रालयले यस घटनाबाट नेपालको पर्वतारोहण क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख गर्दै दिवंगत आरोहीहरूको योगदानको उच्च सम्मान गरेको छ।

    विज्ञप्तिअनुसार नेपाली आरोहीहरू संलग्न टोली सम्पर्कविहीन भएको जानकारी प्राप्त हुनासाथ पाकिस्तानका सम्बन्धित निकाय तथा नेपाली उद्धार टोलीले खोज तथा उद्धार अभियान तीव्र रूपमा सञ्चालन गरेका थिए। कठिन हिमाली भूगोल र जोखिमपूर्ण परिस्थितिका बीच उद्धारमा खटिएका पाकिस्तानी तथा नेपाली उद्धारकर्मीहरूको साहस, समर्पण र व्यावसायिकताप्रति मन्त्रालयले प्रशंसा व्यक्त गरेको छ।

    हालसम्म दुर्घटनामा ज्यान गुमाएका नेपाली आरोहीमध्ये पुरबहादुर गुरुङ ‘युक्ता’ र ग्यालु शेर्पाको शव घटनास्थलबाट तल झारिएको मन्त्रालयले जनाएको छ। अन्य मृतकहरूको शव उद्धार गरी स्वदेश ल्याउने प्रयास निरन्तर जारी रहेको पनि विज्ञप्तिमा उल्लेख छ।

    परराष्ट्र मन्त्रालयका अनुसार मृतक आरोहीहरूको शव नेपाल ल्याउन आवश्यक समन्वय तथा सहजीकरणका लागि इस्लामाबादस्थित नेपाली दूतावासले पाकिस्तानका सम्बन्धित निकायसँग निरन्तर सम्पर्क र समन्वय गरिरहेको छ।

    नेपाल सरकारले दिवंगत आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।



    फास्ट न्युज    
  • २०८३ श्रावण १७, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट