काठमाडौं । इरानसँगको बढ्दो तनावका बीच ठूलो सैन्य कारबाहीको तयारीमा रहेको अमेरिकाले अन्तिम क्षणमा युद्धको बाटो छाड्दै कूटनीतिक पहललाई प्राथमिकता दिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि प्रस्तावित सैन्य हमला तत्कालका लागि रद्द गरिएको घोषणा गर्दै दुवै पक्षबीच सम्झौताका आधारभूत विषयमा सहमति जुटेकाले वार्तालाई अवसर दिन निर्णय गरिएको बताएका छन्।
ट्रम्पका अनुसार प्रस्तावित समझदारीमा होर्मुज स्ट्रेट पूर्ण रूपमा खुला गर्ने तथा इरानको आणविक कार्यक्रमसँग सम्बन्धित विवाद समाधान गर्ने विषय समेटिएको छ। उनले इजरायल पनि उक्त कूटनीतिक प्रयासमा सहमत रहेको दाबी गरेका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार साउदी अरबका क्राउन प्रिन्स मोहम्मद बिन सलमानसहित मध्यपूर्वका केही देशहरूले सैन्य कारबाही रोक्न अमेरिकासँग आग्रह गरेका थिए। त्यसपछि सम्भावित युद्ध केही समयका लागि टरेको हो।
यद्यपि तनाव पूर्ण रूपमा अन्त्य भएको भने छैन। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सैन्य दबाबकै कारण इरान वार्तामा आउन बाध्य भएको दाबी गरेका छन् भने इरानले अमेरिकामाथि सार्वजनिक रूपमा युद्धको धम्की दिने तर गोप्य रूपमा वार्ता खोज्ने दोहोरो नीति अपनाएको आरोप लगाएको छ।
यसबीच पश्चिम एसियामा सैन्य गतिविधि भने जारी छ। अमेरिकाले इजरायलतर्फ थप सैन्य सहयोग पठाइरहेको छ भने इराक र गाजामा पनि हिंसात्मक घटना जारी रहेका छन्। त्यसैले तत्काल ठूलो युद्ध टरे पनि क्षेत्रीय तनाव अझै कायम रहेको विश्लेषकहरूको भनाइ छ।
प्रतिक्रिया