logo

२०८३ श्रावण १७ आईतवार

logo
  • २०८३ श्रावण १७ आईतवार
  • नाज्का लाइन्सको हवाई पर्यटन फेरि शोकमा, १३ जनाको ज्यान जाने दुर्घटनाले सुरक्षा व्यवस्थामाथि प्रश्न

    724Shares
    नाज्का लाइन्सको हवाई पर्यटन फेरि शोकमा, १३ जनाको ज्यान जाने दुर्घटनाले सुरक्षा व्यवस्थामाथि प्रश्न

    काठमाडौं ।
    विश्वप्रसिद्ध पर्यटकीय गन्तव्य नाज्का लाइन्स माथिको हवाई पर्यटन फेरि एकपटक शोकमा डुबेको छ। दक्षिणी पेरूमा पर्यटकलाई हवाई अवलोकन गराइरहेको सानो विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार १३ जनाकै मृत्यु भएपछि उक्त क्षेत्रमा सञ्चालन हुने पर्यटकीय उडानको सुरक्षामाथि पुनः प्रश्न उठेको छ।

    सेस्ना क्याराभान सी–२०८ विमान स्थानीय समयअनुसार शनिबार दिउँसो पिस्को विमानस्थलबाट उडेको थियो। नाज्का लाइन्समाथि अवलोकन गराइरहेका बेला विमान दुर्घटनाग्रस्त भएको हो। विमानमा ११ विदेशी पर्यटक र दुई पाइलट सवार थिए।

    पेरूका अधिकारीहरूका अनुसार मृत्यु हुनेमध्ये दुई जना जर्मनी, दुई जना स्पेन र सात जना इटालीका नागरिक हुन्। दुर्घटनाको कारण खुल्न बाँकी रहेको र विस्तृत अनुसन्धान सुरु गरिएको छ।

    प्रहरी मेजर होर्खे आन्द्रादेले दुर्घटना अत्यन्त भीषण भएकाले कसैलाई पनि जीवित उद्धार गर्न नसकिएको बताएका छन्। हालसम्म चार जनाको शव फेला परेको र बाँकीको खोज तथा पहिचान प्रक्रिया जारी रहेको जनाइएको छ।

    दुर्घटनामा परेको विमान स्थानीय एअरलाइन एरोडियानाको रहेको बताइएको छ। कम्पनीले विज्ञप्ति जारी गर्दै सम्बन्धित निकायसँग सहकार्य गर्दै उडान सञ्चालन र सुरक्षा प्रक्रियाको समीक्षा गर्ने जनाएको छ।

    यो पहिलो घटना भने होइन। नाज्का लाइन्स क्षेत्रमा यसअघि पनि पर्यटकीय विमान दुर्घटनाका घटना दोहोरिएका छन्। सन् २०२२ मा यस्तै दुर्घटनामा सात जनाको ज्यान गएको थियो भने सन् २०१० मा भएको अर्को दुर्घटनामा छ जनाको मृत्यु भएको थियो। लगातार भइरहेका यस्ता घटनाले नाज्का क्षेत्रमा सञ्चालन हुने साना पर्यटकीय विमानको सुरक्षा मापदण्डबारे गम्भीर बहस सुरु भएको छ।

    युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत नाज्का लाइन्स विशाल रहस्यमय भू–आकृतिका कारण विश्वभरका पर्यटकको आकर्षणको केन्द्र मानिन्छ। ती आकृतिको अवलोकन गर्न प्रत्येक वर्ष हजारौँ पर्यटक साना विमानमार्फत आकाशबाट भ्रमण गर्ने गर्छन्। अहिलेको दुर्घटनाले भने विश्वप्रसिद्ध यस हवाई पर्यटनको सुरक्षामाथि नयाँ प्रश्न खडा गरेको छ।



    फास्ट न्युज    
  • २०८३ श्रावण १७, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट