काठमाडौं – पाकिस्तानस्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा बेपत्ता भएका चर्चित नेपाली पर्वतारोही पुरबहादुर गुरुङ (युक्त) को मृत्यु भएको पुष्टि भएको छ।
अल्पाइन क्लब अफ पाकिस्तानले ब्रोड पिक क्षेत्रमा चार जनाको शव फेला परेको जानकारी दिँदै तीमध्ये ओमानी आरोही नधिरा अल हारथी र नेपाली आरोही पुरबहादुर गुरुङ को पहिचान भएको जनाएको छ। पाकिस्तानको पर्वतारोहणसम्बन्धी आधिकारिक निकाय मानिने उक्त क्लबको पुष्टिसँगै नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनले पनि हिमपहिरोमा परी युक्तको निधन भएको जनाएको छ।
गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकमा जन्मिएका युक्तको जीवन हिमालसँगै जोडिएको थियो। बाल्यकालमा ब्रिटिस सेनामा भर्ती हुने सपना देखेका उनी सशस्त्र द्वन्द्वका कारण त्यो लक्ष्य पूरा गर्न नसकेपछि मनाङमा होटलमा काम गर्न पुगे। त्यहीँबाट ट्रेकिङ क्षेत्रसँग उनको सम्बन्ध गहिरिँदै गयो र अन्ततः उनी पर्वतारोहण पेशामा स्थापित भए।
सन् २००९ मा पोर्टरका रूपमा काम सुरु गरेका युक्तले किचन हेल्पर, सहयोगी गाइड, ट्रेकिङ गाइड हुँदै अन्तर्राष्ट्रिय पर्वत मार्गदर्शक (International Mountain Guide) को स्तरसम्मको यात्रा तय गरेका थिए। गत डिसेम्बरमा मात्र उनले नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघमार्फत अन्तर्राष्ट्रिय माउन्टेन गाइडको मान्यता प्राप्त गरेका थिए।
गुरुङ समुदायबाट सबैभन्दा धेरै १० पटक सगरमाथा आरोहण गर्ने कीर्तिमान पनि युक्तकै नाममा रहेको छ। उनले पहिलोपटक सन् २०११ मा सगरमाथा चढेका थिए। त्यसयता उनले विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये १२ वटा सफलतापूर्वक आरोहण गरिसकेका थिए।
त्यसैगरी, पाकिस्तानको के–टु हिमाल २४ घण्टाभित्र आरोहण गरेर उनले विशेष कीर्तिमान पनि कायम गरेका थिए। उनी हिमालमा समस्यामा परेका विदेशी तथा स्वदेशी आरोहीको उद्धारमा समेत सक्रिय रूपमा खटिने अनुभवी पर्वतारोहीका रूपमा परिचित थिए।
करिब तीन साताअघि ब्रोड पिक आरोहणका लागि नेपालबाट पाकिस्तान पुगेका युक्त अन्ततः आफूले जीवन समर्पित गरेको हिमालमै सदाका लागि अस्ताएका छन्। नेपालको पर्वतारोहण क्षेत्रले एक अनुभवी, साहसी र समर्पित पर्वत मार्गदर्शक गुमाएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया