logo

२०८३ श्रावण १५ शुक्रबार

logo
  • २०८३ श्रावण १५ शुक्रबार
  • ब्रड पिकमा भीषण हिमपहिरो : निर्मल ‘निम्स’ पुर्जासहित १० आरोही सम्पर्कविहीन, उद्धारको तीव्र तयारी

    727Shares
    ब्रड पिकमा भीषण हिमपहिरो : निर्मल ‘निम्स’ पुर्जासहित १० आरोही सम्पर्कविहीन, उद्धारको तीव्र तयारी

    काठमाडौं । पाकिस्तानको काराकोरम हिमशृंखलास्थित विश्वको १२औँ अग्लो हिमाल ब्रड पिक (८,०४७ मिटर) मा भीषण हिमपहिरो जाँदा नेपाली चर्चित पर्वतारोही निर्मल ‘निम्स’ पुर्जाको नेतृत्वमा रहेको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन भएको छ। पाकिस्तानका पर्वतारोहण अधिकारीहरूले हिमपहिरोपछि टोलीसँग कुनै सम्पर्क हुन नसकेको पुष्टि गरेका छन्।

    बिहीबार बिहान करिब ९ः२० बजे क्याम्प–२ र क्याम्प–३ बीचको करिब ६ हजार ६६० मिटर उचाइमा हिमपहिरो गएको प्रारम्भिक अनुमान गरिएको छ। त्यतिबेला विभिन्न टोलीका आरोही शिखरतर्फ अघि बढिरहेका थिए। हिमपहिरोपछि निर्मल पुर्जाको नेतृत्वमा रहेको टोलीसँग सम्पर्क टुटेको हो।

    अल्पाइन क्लब अफ पाकिस्तान (एसीपी) का अनुसार सम्पर्कविहीन टोलीमा पाँच नेपालीसहित पाकिस्तानका सोहेल साखी, अमेरिकाकी म्यालोरी गाइस, चीनका वाङ, ओमानकी पर्वतारोही नथिरा तथा अर्का एक विदेशी आरोही रहेका छन्।

    घटनापछि एसीपीले पाकिस्तान सरकार, स्थानीय प्रशासन र सम्बन्धित सुरक्षा निकायसँग समन्वय गरी खोज तथा उद्धार अभियानको तयारी तीव्र बनाएको जनाएको छ। मौसमले साथ दिए शुक्रबार हेलिकोप्टरमार्फत उद्धार टोली, अक्सिजन र आवश्यक सामग्री घटनास्थलतर्फ पठाइने तयारी गरिएको छ।

    १३ घण्टापछि मात्रै बाहिरियो घटनाको जानकारी

    हिमपहिरो बिहीबार बिहान नै गए पनि घटनाबारे औपचारिक जानकारी करिब १३ घण्टापछि मात्रै सार्वजनिक भएको छ। एसीपीकी अधिकारी नाइला कियानीका अनुसार उनीहरूले राति करिब १० बजे मात्रै घटनाबारे जानकारी पाएका थिए। उनका अनुसार समयमै सूचना प्राप्त भएको भए दिनमै हेलिकोप्टर परिचालन गर्न सकिने अवस्था थियो।

    उपलब्ध ट्र्याकिङ उपकरणको प्रारम्भिक विवरणले पनि अवस्था गम्भीर रहेको संकेत गरेको छ। ट्र्याकिङ रेकर्डअनुसार सम्पर्कविहीन आरोहीहरूले बिहान करिब ९ः३० बजेपछि अघि बढ्न छाडेका थिए र त्यसपछि उनीहरूको लोकेसन सयौँ मिटर तल सरेको देखिएको बताइएको छ। यद्यपि यसको आधिकारिक पुष्टि भने हुन बाँकी छ।

    इतिहास रच्ने लक्ष्यमा थिए निर्मल पुर्जा

    विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्स’ पुर्जा प्रारम्भिक रूपमा ग्यासेरब्रुम–२ आरोहणका लागि पाकिस्तान पुगेका थिए। तर पछिल्लो समय उनले सामाजिक सञ्जालमार्फत ब्रड पिकसमेत आरोहण गर्ने निर्णय गरेको जानकारी दिएका थिए।

    ब्रड पिक सफलतापूर्वक आरोहण गर्न सके पुर्जा अक्सिजनबिना विश्वका १४ वटै आठ हजार मिटरभन्दा अग्ला हिमाल दुईपटक आरोहण गर्ने इतिहासकै पहिलो व्यक्ति बन्ने लक्ष्यको एक कदम नजिक पुग्ने थिए। ब्रड पिकपछि उनको सूचीमा चो–ओयु मात्र बाँकी रहने उल्लेख गरेका थिए।

    सन् २००३ मा बेलायती सेनामा भर्ना भएका पुर्जा सन् २००९ मा रोयल मरिनमा आबद्ध भएका थिए। उनले सन् २०१२ मा पहिलोपटक सगरमाथा आरोहण गरेका थिए। त्यसयता उनले विश्व पर्वतारोहण क्षेत्रमा अनेकौँ कीर्तिमान कायम गर्दै नेपाललाई अन्तर्राष्ट्रिय रूपमा चिनाएका छन्।

    हाल सम्पर्कविहीन सबै आरोहीको अवस्थाबारे आधिकारिक जानकारी आउन बाँकी छ। पाकिस्तानका अधिकारीहरूले मौसम अनुकूल हुनेबित्तिकै पूर्ण क्षमताका साथ उद्धार अभियान सञ्चालन गरिने बताएका छन् भने विश्वभरका पर्वतारोहण समुदायले उनीहरूको सुरक्षित उद्धारको कामना गरिरहेका छन्।



    फास्ट न्युज    
  • २०८३ श्रावण १५, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट