काठमाडौं । हाइटीका तत्कालीन राष्ट्रपति जोभेनेल मोइसको हत्या षड्यन्त्रमा संलग्न भएको अभियोगमा अमेरिकाको फ्लोरिडाका पादरी क्रिस्चियन इम्यानुएल सानन दोषी ठहर भएका छन् ।
अमेरिका र हाइटीको दोहोरो नागरिकता भएका ६७ वर्षीय साननलाई हत्या तथा अपहरणको षड्यन्त्रसहित लगाइएका आठवटै अभियोगमा मियामीस्थित संघीय अदालतले दोषी ठहर गरेको हो । उनलाई आजीवन कारावाससम्मको सजाय हुन सक्नेछ ।
अभियोजनकर्ताका अनुसार साननले सन् २०२१ मा राष्ट्रपति मोइसलाई सत्ताच्युत गरी आफू राष्ट्रपति बन्ने योजना बनाएका थिए । सुरुमा सैनिक आक्रमणमार्फत सत्ता कब्जा गर्ने योजना बनाइएको भए पनि पछि त्यो राष्ट्रपति हत्याको षड्यन्त्रमा परिणत भएको थियो ।
राष्ट्रपति मोइसको सन् २०२१ जुलाईमा आफ्नै निवासमा सशस्त्र समूहको आक्रमणबाट हत्या भएको थियो । घटनापछि हाइटीमा राजनीतिक अस्थिरता र आपराधिक गिरोहको हिंसा बढ्दै गएको छ ।
साननका वकिलले भने उनी निर्दोष रहेको दाबी गर्दै अदालतको फैसलाविरुद्ध पुनरावेदन गर्ने बताएका छन् ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया