काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ ।
आयोगले आज बिहान ११ः३० बजे राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका प्रतिनिधिहरूलाई छलफलका लागि आमन्त्रण गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार छलफल आयोगको कार्यालयमा हुनेछ ।
छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधिहरू सहभागी हुनेछन् ।
आयोगले स्थानीय तह निर्वाचनसँगै प्रदेशसभा निर्वाचनसमेत गर्ने विषयमा राजनीतिक दलहरूको धारणा लिने तयारी गरेको छ ।
२०७९ सालमा निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूको पाँचवर्षे कार्यकाल आगामी वैशाखमा समाप्त हुँदैछ । त्यसअघि नै निर्वाचन सम्पन्न गर्ने तयारीस्वरूप आयोगले राजनीतिक दलहरूसँग परामर्श थालेको हो ।
स्थानीय तह निर्वाचन ऐनअनुसार जनप्रतिनिधिको कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअघि निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था छ । यसअनुसार आगामी फागुन–चैतभित्र स्थानीय तहको निर्वाचन गर्नुपर्ने हुन्छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया