काठमाडौं । काठमाडौंको गोठाटारस्थित पहेलोपुल नजिक शनिबार राति भएको आगलागीले सिंगो व्यापारिक लाइन नै ध्वस्त बनेको छ। करेन्ट सर्टबाट सुरु भएको आगोले फर्निचरदेखि मोबाइल, हार्डवेयर, किराना र स्टेशनरीसम्मका १४ वटा पसल जलेपछि व्यवसायीहरू ठूलो आर्थिक संकटमा परेका छन्।
प्रहरीका अनुसार राति करिब ९:१५ बजे रवीन्द्र भट्टराईले सञ्चालन गरेको काठको गोदाम तथा सटरबाट आगलागी सुरु भएको थियो। काठ तथा अन्य ज्वलनशील सामग्रीका कारण आगो छिट्टै फैलिँदै आसपासका पसलमा पुगेको थियो।
आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी संयुक्त रूपमा परिचालित भएका थिए। ९ वटा दमकल र ३ वटा पानी ट्याङ्कीको सहयोगमा करिब दुई घण्टापछि राति ११ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।
आगो निभाउने क्रममा कागेश्वरी मनोहरा नगरपालिका–९ का ३७ वर्षीय नरेश थापा लडेर घाइते भएका छन्। उनको नगर अस्पताल मुलपानीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा पठाइएको छ।
आगलागीबाट ओम काष्ठ मिल उद्योग, दुई फर्निचर पसल, दुई अटो रिकन्डिसन पसल, हेल्मेट पसल, मोबाइल पसल, हार्डवेयर पसल, रङ पसल, मिठाई पसल, चिया पसल, किराना तथा चटपटे पसल, कस्मेटिक पसल र स्टेशनरी पसल पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन्।
प्रहरीले घटनाको प्रारम्भिक कारण विद्युत् सर्ट सर्किट रहेको जनाएको छ। क्षतिको यकिन विवरण संकलन भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया