भक्तपूर । बरिष्ठ निबन्धकार एवं संस्कृतिविद तेजेश्वर बाबु तेजेश्वर बाबु ग्वंग:को निबन्धकृति “मै एक मै अनेक ” को लोकार्पण भएको छ ।
भक्तपूरमा आयोजित एक कार्यक्रममा बरिष्ठ बामपन्थी नेता,नेपाल मजुदर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे रोहित,भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति,तेजेश्वर बाबु,श्रीओम श्रेष्ठ ‘रोदन’ लगायतले उक्त निबन्धकृति लोकार्पण गरे ।
रोहितले देश र जनताको हितमा काम गर्नुपर्नेमा जोड दिंदै अगाडि भने- ‘राजनीतिबाट साहित्य अलग हुन सक्दैन् । यदि राजनीतिबाट कोही पृथक हुनुहुन्छ भन्ने भाव राख्नुहुन्छ भने या त राजनीति बुझ्नु भएन्,या त पक्षधर हुनुहुन्छ । राजनीतिबाट पृथक कोही हुन्छु भन्ने भावना राख्छ भने त्यो गलत हो । देखेका,भोगेका कुरा लेखक साहित्यकारले प्रष्टसँग राखि दिनुपर्छ । बोलीदिनुपर्छ ।तेजेश्वर बाबु लोकप्रिय यस कारण हुनुहुन्छ कि उहाँ ख्याल गरेर कलम चलाउँनुहुन्छ ।’ कविताबाट साहित्यमा प्रवेश गरेका ग्वंग आकाशमा तारा धेरै छन् तर उज्यालो दिने चन्द्र एउटै भनेजस्तै आफू पनि देश र जनताको पक्षमा अनवरत रुपमा लागिपरेको बताए । वर्तमान समयसम्म आउँदा शासकवर्ग सबै वदनाम भएकोले साहित्यकारले राजनीतिमा देखिएको विकृति विरुद्ध प्रहार गर्नु जरुरी भएकोमा उनले जोड दिए ।
भक्तपूर नगरपालिका प्रमुख सुनिल प्रजापतिले भक्तपूरमा भएको महोत्सवमा तेजेश्वर बाबुको कृति लोकार्पण हुनु खुशीको कुरा भएको बताउँदै कला र संस्कृतिमा उत्कृष्ट लेख रचनाहरु सृजना गरेका तेजेश्वरलाई आफ्ना कृतिहरुले अमर बनाउने छ भन्दै हिजोको भक्तपूरको चित्रण गर्न उहाँको लेखरचनाले महत्वपूर्ण भूमिका निभाएको बताए ।
‘मै एक मै अनेक’ निबन्धका स्रष्टा तेजेश्वर बाबु ग्वंग:ले आफ्ना बाल्यकालका संघर्षमय दिनहरु सम्झँदै रचना गर्भको बारेमा बताए ।
कार्यक्रमका सभापति बरिष्ठ निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’ले तेजेश्वरको साहित्यमा योगदानको चर्चा गर्दै सभामा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरे । वर्तमान समयमा नेता भन्नासाथ आम जनतामा वितृष्णा छाएको बताउँदै तेजेश्वरको व्यक्तित्व देखिने जति नै नदेखिने रहेको भन्दै भक्तपूरको न्यातपोल मन्दिरको रुपमा उनको चर्चा गरे ।
साहित्यकार प्रदीप सापकोटाको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा स्वदेश प्रकाशनका अध्यक्ष ऋषिराम पाण्डेले स्वागत मन्तब्य राखेका थिए ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया