“जदौ! जदौ! खुल्यो साहित्य संसारको दैलो…”
यो केवल एउटा उद्घोष थिएन, एउटा युगको परिचय थियो। रेडियो नेपालको तरङ्गसँगै गुञ्जिने यो आत्मीय स्वरले नेपाली साहित्यप्रेमीका अनगिन्ती घर–आँगनमा साहित्यको उज्यालो पुर्याएको थियो। कार्यक्रम सुरु हुनुअघि नै यो स्वर सुन्नासाथ लाग्थ्यो—अब साहित्यको एउटा नयाँ संसार खुल्दैछ।
दाहाल यज्ञनिधिले २०३६ सालदेखि रेडियो नेपालबाट साहित्य संसार कार्यक्रम सञ्चालन गर्नुभयो। म पनि तीसको दशककै सन्तान हुँ। तर उहाँको आवाज मेरो चेतनामा गहिरिएर बस्न थालेको समय भने चालिसको दशक थियो। उमेरले साहित्य सुन्न, बुझ्न र सम्झन सक्ने बन्दै जाँदा साहित्य संसार पनि हाम्रो पुस्ताको साझा पाठशाला बन्यो। रेडियोका तरङ्गमार्फत गाउँ–गाउँ पुगेको त्यो आवाजले एउटा पुस्तालाई साहित्यतर्फ डोर्यायो, शब्दको स्वाद सिकायो र सिर्जनाप्रतिको सम्मान जगायो।
यसको एउटा सानो उदाहरण हामी पनि हौँ—म र मित्र प्रकाश सिलवाल। हामी एउटै ठाउँका होइनौँ। म पूर्वी नेपालको खोटाङका पाखापखेराहरूमा दाहाल यज्ञनिधिको स्वर सुन्दै हुर्किएँ भने प्रकाश सिलवाल नुवाकोटको थानापति क्षेत्रतिर त्यही स्वर सुन्दै हुर्किनुभयो। भूगोल फरक थियो, परिवेश फरक थियो, तर हामीलाई जोड्ने साझा अनुभूति एउटै थियो—साहित्य संसार र त्यसका प्रस्तोता दाहाल यज्ञनिधि।
हामी दुवै केवल उदाहरण मात्र हौँ। वास्तवमा हाम्रो जस्तै एउटा पूरै पुस्ता रेडियो नेपालको त्यो साहित्यिक यात्रासँगै हुर्कियो। त्यसैले आज पनि दाहाल यज्ञनिधिको नाम उच्चारण गर्दा त्यो पुस्ताले आफ्नै जीवनको एउटा आत्मीय अध्याय सम्झन्छ।
पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनदेखि निरंकुश शाही शासनको कठिन कालखण्डसम्म उहाँको भूमिका सिर्जनामा मात्र सीमित रहेन। अनामनगरस्थित आफ्नै घरलाई ‘गणतन्त्र–काव्यटार’ घोषणा गरेर उहाँले साहित्यलाई प्रतिरोधको आवाज र लोकतन्त्रको पक्षमा उभ्याउनुभयो। उहाँका लागि साहित्य केवल लेखन थिएन, सामाजिक उत्तरदायित्व पनि थियो।
हामीभित्र साहित्यप्रतिको प्यास पहिल्यैदेखि थियो, तर हाम्रो भेट साहित्यबाट होइन, पत्रकारिताको यात्रामा भयो। पत्रकारिताले हामीलाई एकअर्कासँग जोड्यो भने साहित्यले हाम्रो सम्बन्धलाई अझ आत्मीय बनायो। पछि अहिलेको नागार्जुन वाङ्मय प्रतिष्ठान, तत्कालीन नागार्जुन साहित्यिक प्रतिष्ठानसँग जोडिएर साहित्यकेन्द्रित गतिविधिमा सक्रिय रहने अवसर प्राप्त भयो। त्यही यात्राले दाहाल यज्ञनिधिको साहित्यिक व्यक्तित्व, लोकतान्त्रिक चेतना र सांस्कृतिक योगदानलाई अझ गहिराइमा बुझ्ने अवसर पनि दियो।
दाहाल यज्ञनिधि नेपाली साहित्यका एक विशिष्ट स्रष्टा, साहित्यकार, पत्रकार तथा संस्कृतिकर्मी हुनुहुन्थ्यो। उहाँका सिर्जनाले नेपाली समाजका यथार्थ, मानवीय संवेदना र राष्ट्रिय चेतनालाई जीवन्त अभिव्यक्ति दिएका छन्। रेडियोलाई साहित्यको विश्वविद्यालय बनाउने दुर्लभ साधकका रूपमा उहाँ सधैँ सम्झिइरहनु हुनेछ।
पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनदेखि निरंकुश शाही शासनको कठिन कालखण्डसम्म उहाँको भूमिका सिर्जनामा मात्र सीमित रहेन। अनामनगरस्थित आफ्नै घरलाई ‘गणतन्त्र–काव्यटार’ घोषणा गरेर उहाँले साहित्यलाई प्रतिरोधको आवाज र लोकतन्त्रको पक्षमा उभ्याउनुभयो। उहाँका लागि साहित्य केवल लेखन थिएन, सामाजिक उत्तरदायित्व पनि थियो।
आज उहाँको ७३औँ जन्मजयन्तीको अवसरमा नागार्जुन वाङ्मय प्रतिष्ठानले आयोजना गरेको विशेष कार्यक्रम वास्तवमै अर्थपूर्ण छ। कार्यक्रममा उहाँको व्यक्तित्व तथा कृतित्वमाथि परिचर्चा, विशेष काव्यगोष्ठी, ‘जदौ’ अतिथि सम्मान, ‘जदौ’ पुरस्कार हस्तान्तरण तथा वरिष्ठ कवि पूर्णविरामको विशेष कवितावाचनलगायत विविध साहित्यिक कार्यक्रम समेटिएका छन्।
यस वर्ष ‘जदौ’ पुरस्कारबाट सम्मानित हुने व्यक्तित्वमध्ये प्रकाश सिलवाल पनि हुनुहुन्छ। यो केवल एउटा सम्मान होइन, एउटा ऐतिहासिक सन्दर्भलाई सम्झाउने सुन्दर संयोजन पनि हो। यदि यो संयोग हो भने अत्यन्त अर्थपूर्ण संयोग हो, र यदि योजनाबद्ध हो भने आयोजकलाई हार्दिक धन्यवाद दिनैपर्छ।
किनभने, तत्कालीन निरंकुश शाही शासनले कवि पूर्णविरामलाई नियन्त्रणमा लिएर उहाँको सिर्जनात्मक यात्रामै पूर्णविराम लगाउने प्रयास गरिरहेको बेला नागार्जुनको अग्रसरतामा ‘कलम बचाऔँ’ अभियान सञ्चालन भएको थियो। त्यस अभियानमा दाहाल यज्ञनिधि, प्रकाश सिलवाललगायत धेरै साहित्यकर्मी र लोकतन्त्र पक्षधरहरूको सक्रिय सहभागिता रहेको थियो। आज उनै कवि पूर्णविरामको उपस्थितिमा उहाँकै कविता वाचन हुनु, दाहाल यज्ञनिधिको जन्मजयन्ती मनाइनु र त्यही अभियानका सक्रिय अभियन्तामध्ये एक प्रकाश सिलवाललाई सम्मान गरिनु—यी सबै घटनाले इतिहास, संघर्ष, साहित्य र सम्मानलाई एउटै सूत्रमा गाँसेका छन्।
आज दाहाल यज्ञनिधि भौतिक रूपमा हामीबीच हुनुहुन्न। तर उहाँको स्वर अझै जीवित छ। उहाँले रोपेको साहित्यप्रतिको मोह अझै हरियो छ। उहाँले जगाएको चेतना अझै जीवित छ। रेडियो नेपालको त्यो आत्मीय उद्घोषसँग हुर्किएको पुस्ताको स्मृतिमा उहाँ आज पनि उत्तिकै सजीव हुनुहुन्छ।
त्यसैले दाहाल यज्ञनिधिको जन्मजयन्ती एउटा व्यक्तिको जन्मदिनको उत्सव मात्र होइन, नेपाली साहित्यको एउटा युगलाई सम्मान गर्ने अवसर पनि हो। यो हाम्रो साझा स्मृतिको उत्सव हो। यो साहित्य, संस्कृति, लोकतान्त्रिक चेतना र सिर्जनात्मक उत्तरदायित्वप्रतिको श्रद्धाञ्जली हो।
नागार्जुन वाङ्मय प्रतिष्ठानको पूर्वअध्यक्षका रूपमा, आजको शुभेच्छुकका रूपमा र यस कार्यक्रममा आमन्त्रित सहभागीका रूपमा म आयोजकप्रति हार्दिक आभार व्यक्त गर्दछु। यस्ता कार्यक्रमले केवल स्रष्टाको सम्मान गर्दैनन्, इतिहासलाई नयाँ पुस्तासम्म पुर्याउने सेतु पनि निर्माण गर्छन्।
अन्त्यमा, उहाँको स्मृतिप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै यही भन्न मन लाग्छ— जदौ दाहाल दाइ!
र आजको कार्यक्रमको ढोका पनि त्यसैगरी खुलोस्—
“जदौ! जदौ! खुल्यो साहित्य संसारको दैलो…”
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया