काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवाद सर्वोच्च अदालतमा पुनरावलोकनको चरणमा प्रवेश गरेपछि पूर्वसभापति शेरबहादुर देउवाले आफूहरूको पक्षमा ‘आधा जित’ भइसकेको दाबी गरेका छन्।
भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै देउवाले सर्वोच्च अदालतले आफूहरूको पुनरावलोकन निवेदनमा ‘निस्सा’ प्रदान गर्नु नै महत्वपूर्ण उपलब्धि भएको बताए। अब अदालतबाट आफूहरूले न्याय पाउने विश्वास व्यक्त गर्दै उनले पार्टीको आधिकारिकता आफूहरूले नै पाउने दाबी गरे।
‘हामीले सर्वोच्चमा मुद्दा हाल्यौँ। सर्वोच्चले चुनाव भइसक्यो, के गर्ने भनेर भन्यो। त्यसपछि पुनरावलोकनमा गयौँ। पुनरावलोकनले निस्सा दियो हामीलाई। निस्सा दिएपछि हाम्रो आधाभन्दा बढी विजय भइसक्यो,’ देउवाले भने।
देउवाले निर्वाचन आयोगले आफूहरूमाथि अन्याय गरेको आरोपसमेत लगाए। विशेष महाधिवेशन पक्षधरलाई पार्टीको आधिकारिकता दिने क्रममा आयोगका पदाधिकारीले दबाबमा निर्णय गरेको उनको दाबी थियो। आयोगका प्रमुखले आफूलाई ‘ज्यानको खतरा’ रहेको बताएको प्रसंग उल्लेख गर्दै देउवाले त्यसैलाई आधार बनाएर पार्टी अद्यावधिक गरिएको दाबी गरे।
उनले पार्टीको आधिकारिकता रोक्न अहिले पनि विभिन्न तहबाट प्रयास भइरहेको आरोप लगाए। तर जस्तोसुकै षड्यन्त्र भए पनि आफूहरू पछि नहट्ने बताउँदै देउवाले नेपाली कांग्रेसको रुख चिह्न र चारतारे झन्डामाथिको आधिकारिकता आफूहरूले पाउने दाबी गरे।
‘कुनै पनि हालतमा पुनरावलोकनबाट नेपाली कांग्रेसको आधिकारिकता हामीले पाउनुपर्ने कुरा रोक्न कोसिस भइराखेको छ। तर हामी कुनै हालतमा मान्दैनौँ। रुख चिह्न, चारतारे झन्डा नेपाली कांग्रेसको हामीले पाउनेछौँ,’ उनले भने।
देउवाले सभापति गगन थापाले बोलाएको विशेष महाधिवेशनको वैधानिकतामाथि पनि प्रश्न उठाएका छन्। आफू पार्टी सभापति हुँदाहुँदै आफूलाई जानकारी नै नदिई विशेष महाधिवेशन आह्वान गरिएको भन्दै उनले त्यसलाई स्वीकार गर्न नसकिने बताए।
विशेष महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको सनाखत हुनुपर्ने जिकिर गर्दै देउवाले त्यसबिना महाधिवेशन बोलाउन नमिल्ने बताए।
‘गगन थापाजीले विशेष अधिवेशन बोलाउनुपर्यो भन्नुभयो। मैले विशेष अधिवेशन बोलाउन पाउँछ, अधिकार छ पार्टीको। त्यसका लागि को–को भाग लिने हो, सनाखत हुनुपर्यो। बिना सनाखत गर्न पाइन्छ?’ देउवाले प्रश्न गरे।
आफूलाई जानकारी नै नदिई विशेष महाधिवेशन बोलाइएको भन्दै उनले विगतमा पनि यस्तो अभ्यास नभएको दाबी गरे।
‘अहिले पार्टी सभापति म छु, मलाई थाहै छैन। बोलाइदिने?’ उनले प्रश्न गरे।
गगन थापाले आफूलाई सुरुमा विशेष महाधिवेशनबारे विचार गर्ने बताएको तर पछि अचानक महाधिवेशन आह्वान गरेको देउवाको आरोप छ।
‘मैले भन्दा गगनले हुन्छ दाइ, विचार गर्छु दाइ भनेका थिए। अचानक बोलाइदिए। खल्तीबाट बोलाएर हुन्छ?’ देउवाले भने।
पार्टीको आधिकारिकता विवाद, विशेष महाधिवेशनको वैधानिकता र नेतृत्वसम्बन्धी विवाद अहिले सर्वोच्च अदालतको प्रक्रियासँग जोडिएको छ। सर्वोच्चले पुनरावलोकनका लागि ‘निस्सा’ दिएपछि देउवा पक्षले यसलाई आफ्नो पक्षमा आएको महत्वपूर्ण न्यायिक प्रगतिको रूपमा व्याख्या गरिरहेको छ भने विवादको अन्तिम निरूपण भने अदालतको फैसलाबाट हुने देखिन्छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया