काठमाडौं । राजावादीको आन्दोलनमा प्रदर्शनकारीले आगजनी गर्दा खरानी भएको जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको उत्पादन झण्डै एक महिनापछि सुरु भएको छ। आगजनीलगत्तै महाप्रबन्धक डा. संगीता यादवको कार्यकाल सकिएपछि सञ्चालनमा प्राविधिक र प्रशासनिक समस्याका कारण कम्पनीको उत्पादन शुक्रबारबाट शुरु भएको कार्यवाहक महाप्रबन्धक उषा रिजाल जोशीले बताइन्।
चैत १५ गते तीनकुनेमा भएको प्रदर्शन क्रममा आन्दोलनकारीले आगजनी गर्दा उत्पादन शाखामा पूर्ण क्षति भएको थियो भने अन्य शाखामा ढुङ्गामुढा गर्दा आंशिक क्षति पुगेको थियो। आगजनीको केही दिनपछि चैत २३ गते महाप्रबन्धक यादवको कार्यकाल सकिएपछि विभिन्न प्रक्रिया मिलाउँदा मिलाउँदै कम्पनी सञ्चालनमा ढिलाई भएको त्यहाँका कर्मचारीले बताएका छन्।
पूर्व महाप्रबन्धक यादवले भनिन्- ‘आगजनी लगत्तै मेरो कार्यकाल सकियो। नयाँ नियुक्तिको प्रक्रिया के भइरहेको छ, त्यसबारे मलाई जानकारी भएन। जतिसक्दो चाँडो नयाँ महाप्रबन्धक नियुक्त भइदिए रोकिएको काम अगाडी बढ्ने थियो।’
लामो समय यही कम्पनीसँग जोडिएर काम गर्दा सञ्चो ब्राण्डका विभिन्न उत्पादनहरु बढाएर देश विदेशमा निर्यात गर्न सफल भएको बताउँदै कम्पनीको यस्तो अवस्थामा आफ्नो कार्यकाल सकिनु , कम्पनी सञ्चालनका लागि केही गर्न नसक्दा आफूलाई दुःख लागेको उनले बताइन्। सरकारी स्वामित्वको त्यसमाथि सरकारकै गर्वलायक संस्था भएकाले यसको पुनःउत्थानका लागि ढिला नगर्न डा. यादवले आग्रह गरिन्।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया