logo

२०८३ श्रावण ११ सोमबार

logo
  • २०८३ श्रावण ११ सोमबार
  • सुनसरीमा साम्प्रदायिक तनाव : झडपमा एक जनाको मृत्यु, सुरक्षाकर्मीसहित २४ जना घाइते, दुई गाउँपालिकामा निषेधाज्ञा र चार बजारमा कर्फ्यु

    712Shares
    सुनसरीमा साम्प्रदायिक तनाव : झडपमा एक जनाको मृत्यु, सुरक्षाकर्मीसहित २४ जना घाइते, दुई गाउँपालिकामा निषेधाज्ञा र चार बजारमा कर्फ्यु

       इटहरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति हिन्दु र मुस्लिम समुदायबीच भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु भएपछि स्थानीय प्रशासनले सोमबार दुई गाउँपालिकामा निषेधाज्ञा जारी गर्नुका साथै चार वटा बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश लागू गरेको छ।

    जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काका अनुसार झडपमा परी कप्तानगञ्ज निवासी ओमप्रकाश मेहताको मृत्यु भएको हो। उनलाई कुन हतियारबाट गोली लागेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रारम्भिक अनुसन्धानअनुसार विवाद कप्तानगञ्जस्थित एक मन्दिरमा ठूलो स्वरमा डिजे बजाएको विषयबाट सुरु भएको थियो। त्यसअघि सो क्षेत्रको बिजुलीको पोलमा राखिएको मुस्लिम समुदायको झण्डा हटाएर हिन्दु समुदायको झण्डा राखिएको विषयले पनि दुई समुदायबीचको तनाव बढाएको सुरक्षा अधिकारीहरूले बताएका छन्।

    राति करिब १०ः३० बजेदेखि सुरु भएको झडप उग्र बनेपछि स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरीले तीन राउण्ड हवाई फायर गरेको थियो। त्यसैगरी सशस्त्र प्रहरी बलले सात राउण्ड गोली चलाएको डीएसपी खड्काले जानकारी दिए।

    घटनामा प्रहरी निरीक्षक राकेश राई सहित नेपाल प्रहरीका १० जना र सशस्त्र प्रहरी बलका पाँच जना सुरक्षाकर्मी घाइते भएका छन्। झडपमा परेर कम्तीमा नौ जना स्थानीय पनि घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरूको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

    घटनापछि सम्भावित थप तनाव रोक्न जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहानदेखि सुरक्षा व्यवस्था थप कडा बनाएको छ।

    प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे ले जारी गरेको आदेशअनुसार हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिका क्षेत्रमा सोमबार बिहान ७ बजेदेखि साँझ ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ। निषेधाज्ञा अवधिभर पाँच जनाभन्दा बढी व्यक्ति एकै स्थानमा भेला हुन नपाउने व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

    त्यसैगरी प्रशासनले हरिनगरा बजार, घुटाहा बजार, कप्तानगञ्ज, घुस्की र देवानगञ्ज बजार क्षेत्रमा सोमबार बिहान ७ बजेदेखि अर्को आदेश नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ। कर्फ्यु लागू भएका क्षेत्रमा सर्वसाधारणको आवतजावत पूर्ण रूपमा रोकिएको छ भने अत्यावश्यक सुरक्षाकर्मी र प्रशासनिक सेवाबाहेक अन्य गतिविधिमा रोक लगाइएको छ।

    घटनापछि प्रभावित क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य सुरक्षा निकायको थप जनशक्ति परिचालन गरिएको छ। प्रशासनले सर्वसाधारणलाई अफवाहमा विश्वास नगर्न, सामाजिक सद्भाव कायम राख्न र सुरक्षा निकायसँग सहयोग गर्न आग्रह गरेको छ।

    प्रहरीले झडपको वास्तविक कारण, मृतकलाई लागेको गोलीको स्रोत तथा घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।



    फास्ट न्युज    
  • २०८३ श्रावण ११, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट