logo

२०८३ श्रावण ११ सोमबार

logo
  • २०८३ श्रावण ११ सोमबार
  • ८० महिनापछि सञ्चालनमा आयो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग, सुरुमा अत्यावश्यक सवारीलाई मात्रै अनुमति

    724Shares
    ८० महिनापछि सञ्चालनमा आयो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग, सुरुमा अत्यावश्यक सवारीलाई मात्रै अनुमति

         काठमाडौं । नेपालको सडक पूर्वाधार विकासमा ऐतिहासिक मानिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज औपचारिक रूपमा उद्घाटन हुँदैछ। निर्माण सुरु भएको करिब ८० महिनापछि सञ्चालनमा आउन लागेको यो सुरुङमार्गले काठमाडौं प्रवेश र बाहिरिने यात्रालाई सहज, सुरक्षित र छिटो बनाउने अपेक्षा गरिएको छ।

    पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जापानका लागि नेपाली राजदूत मायदा तोरु तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा सुरुङमार्गको उद्घाटन गर्ने कार्यक्रम छ।

    यद्यपि उद्घाटनसँगै सुरुङमार्ग सबै प्रकारका सवारीसाधनका लागि खुला गरिने छैन। आयोजनाका उपनिर्देशक सञ्जय पन्थीका अनुसार प्रारम्भिक चरणमा एम्बुलेन्स, दमकल, सुरक्षा निकायका सवारीसाधन तथा अन्य अत्यावश्यक सेवाका सवारीलाई मात्र सञ्चालनको अनुमति दिइनेछ। करिब तीन महिनासम्म परीक्षणकाल (ट्रायल ओपनिङ पिरियड) सञ्चालन गरी सुरक्षा प्रणाली र ट्राफिक व्यवस्थापनको मूल्यांकनपछि अन्य सवारीसाधनलाई चरणबद्ध रूपमा प्रवेश दिइने योजना रहेको छ।

    परीक्षण अवधिभर सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट कुनै शुल्क नलिइने आयोजनाले जनाएको छ। नियमित सञ्चालन सुरु भएपछि भने सवारीसाधनको प्रकारअनुसार शुल्क लागू हुनेछ। सडक विभागले निर्धारण गरेको शुल्कअनुसार कार र भ्यानले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ। मिनीबस, ट्रक तथा टिपरका लागि काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ शुल्क तोकिएको छ। त्यसैगरी बस तथा ठूला ट्रकले काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्नेछ। यसअघि मन्त्रिपरिषद्ले सवारीसाधनको वर्गअनुसार ६० देखि ६०० रुपैयाँसम्म शुल्क निर्धारण गरिसकेको छ।

    सुरुङमार्गमा पैदलयात्री, मोटरसाइकल, स्कुटर, तीनपाङ्ग्रे सवारीसाधन तथा डिजेल, पेट्रोल, ग्यासजस्ता प्रज्ज्वलनशील पदार्थ वा विस्फोटक सामग्री बोकेका सवारीसाधनलाई प्रवेश निषेध गरिएको छ।

    आयोजनाअन्तर्गत २ हजार ६८८ मिटर लामो मुख्य सुरुङमार्ग र २ दशमलव ५५ किलोमिटर लामो छुट्टै उद्धार सुरुङ निर्माण गरिएको छ। सुरुङभित्र अत्याधुनिक सिसिटिभी निगरानी प्रणाली, सञ्चार सुविधा, दमकल प्रणाली, आकस्मिक उद्धार सेवा, अक्सिजन आपूर्ति तथा अन्य आवश्यक सुरक्षा प्रणाली जडान गरिएको आयोजनाले जनाएको छ।

    यो सुरुङमार्ग काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ दहचोक टोटीपाखाबाट सुरु भई धादिङको धुनिबेँसी नगरपालिकास्थित सिस्नेखोलामा पुगेर टुंगिन्छ। यसमार्फत हालको नागढुङ्गा सडकखण्डमा हुने लामो जाम, उकालो र घुमाउरो सडकको विकल्प उपलब्ध हुने भएकाले यात्राको समय करिब एक घण्टासम्म बचत हुने विश्वास गरिएको छ।

    आयोजनाको निर्माणमा जापान सरकारको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको लगानी गरी करिब २५ अर्ब रुपैयाँ खर्च भएको छ। त्यसमध्ये निर्माण कार्यमा करिब १७ अर्ब रुपैयाँ, विनिमय दरमा आएको परिवर्तन तथा निर्माण सामग्रीको मूल्यवृद्धिका कारण थप करिब दुई अर्ब रुपैयाँ र जग्गा अधिग्रहण तथा मुआब्जामा करिब ६ अर्ब रुपैयाँ खर्च भएको आयोजनाले जनाएको छ। परियोजनाका लागि ४८० रोपनी जग्गा अधिग्रहण गरिएको थियो।

    सुरुङमार्ग ४२ महिनाभित्र निर्माण सम्पन्न गर्ने प्रारम्भिक लक्ष्य राखिएको भए पनि कोभिड–१९ महामारी, निर्माण सामग्री आपूर्ति, प्राविधिक जटिलता तथा अन्य कारणले आयोजना निर्धारित समयभन्दा निकै ढिलो सम्पन्न भएको हो।

    नेपालमै पहिलो पटक सञ्चालनमा आउन लागेको यस सडक सुरुङमार्गलाई मुलुकको आधुनिक सडक पूर्वाधारतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। परीक्षणकाल सफलतापूर्वक सम्पन्न भएपछि सर्वसाधारणका सवारीसाधनका लागि पनि सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याइने जनाइएको छ।



    फास्ट न्युज    
  • २०८३ श्रावण ११, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट