काठमाडौं, परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उनलाई सोमबार काठमाडौंको मनोहरा क्षेत्रबाट नियन्त्रणमा लिएको हो।
सीआईबीका प्रवक्ता एसएसपी अनुपम शमशेर जबराका अनुसार भट्टराईलाई राहदानी कसूरसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ गरिएको हो। प्रारम्भिक अनुसन्धानबाट गलत विवरणका आधारमा ट्राभल डकुमेन्ट (यात्रा अनुमति पत्र) जारी गरेको देखिएपछि थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको उनले बताए।
सीआईबीका अनुसार भट्टराई २०६८ सालमा परराष्ट्र मन्त्रालयमा शाखा अधिकृतका रूपमा कार्यरत रहँदा तिब्बती शरणार्थीको नाममा गलत विवरण प्रयोग गरी गैरकानुनी रूपमा ट्राभल डकुमेन्ट जारी गरेको आरोप लागेको छ। सो कार्यबाट आर्थिक लाभसमेत लिएको आशंकामा उनीमाथि अनुसन्धान अघि बढाइएको ब्यूरोले जनाएको छ।
प्रहरीले घटनासम्बन्धी प्रमाण संकलन र थप अनुसन्धान जारी रहेको जनाएको छ। पक्राउ परेका भट्टराईलाई सोमबार नै जिल्ला अदालत काठमाडौंमा उपस्थित गराई म्याद थपका लागि अनुमति माग्ने तयारी गरिएको सीआईबीले जनाएको छ।
यस प्रकरणमा अन्य व्यक्तिको संलग्नता रहेको वा नरहेको विषयमा पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया