logo

२०८३ भाद्र २४ बुधबार

logo
  • २०८३ भाद्र २४ बुधबार
  • ‘घर मात्रै जलेन, नयाँ पुस्तालाई सुम्पिने मेरा सपना पनि खरानी भए’ : राधिका शाक्य

    736Shares
    ‘घर मात्रै जलेन, नयाँ पुस्तालाई सुम्पिने मेरा सपना पनि खरानी भए’ : राधिका शाक्य

    काठमाडौं । एक वर्षअघि जेनजी आन्दोलनका क्रममा आगजनी भएको बालकोटस्थित निवासमा बुधबार फर्किँदा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्य भावुक बनिन्। भग्नावशेष बनेको आफ्नै निवासमा उभिएर उनले घरसँगै नयाँ पुस्तालाई सुम्पिने आफ्ना वर्षौँदेखिका सपना पनि जलेको बताइन्।

    आगजनी भएको एक वर्षपछि भग्नावशेष निवास पुगेकी शाक्यले त्यहाँ आयोजित कार्यक्रममा आफूले वर्षौँ लगाएर संकलन गरेका सामग्री, पुस्तक तथा संग्रहालय बनाउने योजनासमेत आगोमा नष्ट भएको सुनाइन्।

    शाक्यका अनुसार घरमा स्वदेश तथा विदेशबाट प्राप्त भएका ठूलो संख्याका उपहारहरू थिए। ती सामग्रीलाई व्यवस्थित गरेर आकर्षक संग्रहालय बनाउने र आफूहरूको शेषपछि राष्ट्रलाई हस्तान्तरण गर्ने योजना उनले बनाएकी थिइन्।

    ‘स्वदेशी र विदेशी उपहारहरू सम्भवतः नेपालमै सबैभन्दा बढी यो घरमा थियो। ती सबै सामानको संग्रहालय बनाउन खर्च गर्दै जोडेका सपना पनि जले,’ उनले भनिन्।

    उनले नयाँ पुस्तालाई केही छाडेर जाने उद्देश्यले संग्रहालय निर्माणका लागि वर्षौँदेखि खर्च गर्दै आएको बताइन्। त्यस्तै, घरमा रहेका करिब १० हजार पुस्तकलाई व्यवस्थित गरेर सार्वजनिक पुस्तकालय बनाउने सपना पनि आगजनीसँगै खरानी भएको उनको भनाइ छ।

    ‘हामीसँग भएको विविध विषयका दसौँ हजार पुस्तकलाई व्यवस्थित गरी एउटा पब्लिक पुस्तकालयसमेत नयाँ पिढीलाई छोडेर जाने इच्छा थियो। तर आज यी सबै मेरा सपनाहरू पनि खरानीमा परिणत हुन गएका छन्,’ शाक्यले भावुक हुँदै भनिन्।

    ‘जेनजीले होइन, अरूकै षड्यन्त्रमा देश जल्यो’

    शाक्यले बालकोटको निवासमा भएको आगजनीलाई जेनजी पुस्तासँग मात्र जोड्न नहुने दाबी गरिन्। उनले अरू कसैको षड्यन्त्रमा देश जलेको जिकिर गर्दै घटनाप्रति आक्रोशसमेत व्यक्त गरिन्।

    कार्यक्रममा उनी कहिले भावुक त कहिले आक्रोशित देखिएकी थिइन्।

    गत वर्षको घटनामा आफूहरू पनि मारिन सक्ने अवस्था रहेको स्मरण गर्दै शाक्यले संयोगले आफूहरू बाँच्न सफल भएको बताइन्।

    ‘गतसाल नै हामीलाई मारेको भए आज यहाँ कालो दिवसको साथसाथै हाम्रो मृत्युको वर्षगाँठ पनि तपाईंहरूले मनाइरहेको अवस्था हुन्थ्यो,’ उनले भनिन्, ‘संयोगले हामी बच्यौँ र सबैसँग भेट्ने अवसर जुट्यो, धेरै खुसी लागेको छ।’

    एक वर्षपछि भग्नावशेष निवासमा फर्किएकी शाक्यको अभिव्यक्तिमा जलेको घरको पीडा, गुमेका सामग्रीको क्षति र नयाँ पुस्ताका लागि बनाएका योजनाहरू अधुरै रहेको दुःख एकसाथ देखिएको थियो।



    फास्ट न्युज    
  • २०८३ भाद्र २४, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट