काठमाडौं — सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा हुने संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको सहभागितादेखि सचिव बढुवा र विभिन्न नियुक्तिसम्मका सात निर्णय गरेको छ।
मन्त्रिपरिषद्ले २०८३ असोज ६ देखि १० गतेसम्म हुने संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री शाहको नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरेको छ।
त्यस्तै, भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल–इन्डिया इन्टर–गभर्मेन्टल सब–कमिटिको बैठकमा सहभागी हुने नेपाली वार्ता टोली गठन गर्ने निर्णय गरेको छ।
सरकारले अनुचित लेनदेन अर्थात् मिटरब्याज अपराध नियन्त्रणसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ।
मन्त्रिपरिषद्ले काठमाडौं, भक्तपुर, ललितपुर, सप्तरी र दाङ जिल्लाका २७ स्थानीय तहका १७ हजार ४३८ गरिब घरपरिवारको सूचीसमेत स्वीकृत गरेको छ।
शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल, सदस्यमा रामशरण सापकोटा र महिला सदस्यमा विष्णु घिमिरे रिमाललाई नियुक्त गर्ने निर्णय भएको छ।
त्यसैगरी, सहसचिव विनोदबहादुर कुँवरलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रमुख सचिवका रूपमा पदस्थापन गर्ने निर्णय गरिएको छ।
सहसचिव उत्तरकुमार खत्रीलाई पनि राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रमुख सचिवका रूपमा पदस्थापन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया