काठमाडौं । प्रतिनिधि सभाकाे पहिलाे बैठक सुरु हुनासाथ नेकपा (एमाले) का सांसदहरूले विरोध जनाउनुभएको छ। आजबाट सुरु भएको बैठक सभाका अध्यक्ष अर्जुननरसिंह केसीले प्रारम्भ भएको घोषणा गर्नेबित्तिकै एमाले सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिनुभएको हो।
विरोधपछि सभाका अध्यक्ष केसीले एमालेका सांसद गुरु बराललाई आफ्नो धारणा राख्न समय दिनुभएको थियो। बैठकमा बोल्दै सांसद बरालले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको विषयप्रति गम्भीर आपत्ति जनाउनुभयो।
उहाँले दुवै नेतामाथि विभेदपूर्ण ढंगले पक्राउ गरिएको आरोप लगाउँदै सरकारको कदमप्रति असन्तुष्टि व्यक्त गर्नुभयो। एउटै प्रकृतिको घटनामा एक पक्षका लागि आयोग गठन गरेर छानबिन गर्ने र अर्को पक्षलाई प्रत्यक्ष पक्राउ गर्ने कार्यले सरकारले विभेद गरेको उहाँको भनाइ थियो।
सांसद बरालले उक्त घटनाको विरोधमा आन्दोलनमा उत्रिएका एमालेका नेता तथा कार्यकर्तामाथि प्रहरीले लाठीचार्ज गरेको र त्यसबाट कैयौँ घाइते भएको बताउनुभयो। उहाँले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि आवश्यक कारबाही गर्न सरकारसँग माग गर्नुभयो। उहाँले सरकारको यस्तो व्यवहारले लोकतान्त्रिक अभ्यासमाथि प्रश्न उठेको उल्लेख गर्दै समान घटनामा समान व्यवहार हुनुपर्ने धारणा राख्नुभयो।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया