खोटाङ – हलेसी तुवाचुङ नगरपालिका–५ सल्लेको राना गाउँमा निर्माण सम्पन्न ‘एक घर–एक धारा’ लिफ्टिङ खानेपानी आयोजना उद्घाटन तथा हस्तान्तरण गरिएको छ। गोर्खा वेल्फेयर ट्रष्ट नेपाल, पोखराको आर्थिक सहयोगमा निर्माण गरिएको उक्त आयोजना शनिबार एक विशेष कार्यक्रमका बीच स्थानीय खानेपानी उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको हो।
आयोजनाको उद्घाटन हलेसी तुवाचुङ नगरपालिकाकी नगर प्रमुख बिमला राई को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा गोर्खा वेल्फेयर ट्रष्ट नेपालका सिनियर अफिसर केदार राई, सल्लेका वडाका अध्यक्ष काशिराज राई, जनप्रतिनिधि, स्थानीय अगुवा तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।
७२ दिनको अवधिमा निर्माण सम्पन्न भएको उक्त लिफ्टिङ खानेपानी आयोजनाबाट राना गाउँका ३१ घरपरिवार प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। आयोजनामार्फत प्रत्येक घरमा छुट्टाछुट्टै धारा जडान गरिएकाले अब स्थानीय बासिन्दाले घरमै स्वच्छ र सुरक्षित खानेपानीको सुविधा पाउने वडा अध्यक्ष काशिराज राईले वताए।
वर्षौंदेखि खानेपानीको अभाव झेल्दै आएका स्थानीयवासीका लागि यो आयोजना महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। विशेषगरी सुख्खा क्षेत्रका रूपमा परिचित हलेसी तुवाचुङ नगरपालिकाका विभिन्न बस्तीहरूमा खानेपानी तथा सिँचाइको समस्या गम्भीर रहँदै आएको छ। यस्तो अवस्थामा राना गाउँमा सञ्चालन गरिएको लिफ्टिङ खानेपानी आयोजनाले स्थानीयको दैनिक जीवन सहज बनाउनुका साथै स्वास्थ्य तथा सरसफाइमा समेत सकारात्मक प्रभाव पर्नेछ।
उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख बिमला राईले आधारभूत नगरवासीकोआवश्यकतामध्ये खानेपानी सबैभन्दा महत्वपूर्ण विषय भएको उल्लेख गर्दै नागरिकलाई स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्न नगरपालिका निरन्तर लागिरहेको बताइन्। उनले सरकारी निकाय, विकास साझेदार संस्था र स्थानीय समुदायबीचको सहकार्यबाट यस्ता आयोजना सफल हुने धारणा व्यक्त गरिन्।
कार्यक्रममा सहभागी वक्ताहरूले गोर्खा वेल्फेयर ट्रष्टले हलेसी तुवाचुङ नगरपालिकाभित्र खानेपानी, शिक्षा, स्वास्थ्य तथा सामुदायिक पूर्वाधार विकासका क्षेत्रमा पुर्याउँदै आएको योगदानको प्रशंसा गरेका थिए। ट्रष्टले यसअघि पनि नगरपालिकाका विभिन्न क्षेत्रमा विकास निर्माण तथा जनजीविकासँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्दै आएको बताइएको छ।
वडा अध्यक्ष एवं हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीले राना गाउँका बासिन्दाको लामो समयदेखिको खानेपानी समस्या समाधान भएको भन्दै आयोजना निर्माणमा सहयोग पुर्याउने सबै पक्षप्रति आभार व्यक्त गरे। उनले सुख्खा क्षेत्रका अन्य बस्तीहरूमा पनि यस्ता आयोजना विस्तार गर्न आवश्यक रहेको बताए।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया