logo

२०८३ आश्विन २ शुक्रबार

logo
  • २०८३ आश्विन २ शुक्रबार
  • कांग्रेसको विवाद बागलुङसम्म : इतर पक्षबाट अधिवेशन संयोजक बने सागर छन्त्याल

    775Shares
    कांग्रेसको विवाद बागलुङसम्म : इतर पक्षबाट अधिवेशन संयोजक बने सागर छन्त्याल

    बागलुङ,  नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र दुई छुट्टाछुट्टै प्रक्रिया अघि बढिरहेका बेला बागलुङमा संस्थापनइतर पक्षले जिल्ला अधिवेशनको तयारी अघि बढाएको छ।

    संस्थापनइतर पक्षले नेपाली कांग्रेस बागलुङका जिल्ला उपसभापति सागर छन्त्याललाई जिल्ला अधिवेशन संयोजकको जिम्मेवारी दिएको छ। संस्थापनइतर समूहका संयोजक डा. शशांक कोइरालाले छन्त्याललाई जिम्मेवारी तोकेर पत्र पठाएका हुन्।

    छन्त्यालले अब संस्थापनइतर पक्षबाट अघि बढाइने १५औँ महाधिवेशनको प्रक्रियाअन्तर्गत बागलुङमा वडा तहदेखि जिल्ला तहसम्मका अधिवेशनसम्बन्धी तयारी तथा समन्वय गर्ने जिम्मेवारी पाएका छन्।

    यसअघि नै संस्थापनइतर पक्षले डा. शशांक कोइरालाको संयोजकत्वमा १५औँ केन्द्रीय महाधिवेशन तयारी समिति गठन गरिसकेको छ। सो पक्षले असोज १५ गतेदेखि वडा अधिवेशनको प्रक्रिया सुरु गर्ने र मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका अघि सारेको छ।

    यता विशेष महाधिवेशनबाट बनेको नेतृत्व पक्षले भने असोज ३ गतेदेखि वडा अधिवेशन सुरु गर्ने गरी छुट्टै प्रक्रिया अघि बढाएको छ। यसरी कांग्रेसको केन्द्रीय विवादको प्रभाव जिल्ला तहसम्म पुगेको देखिएको छ।

    बागलुङमा पनि अधिवेशनको तयारीका क्रममा पक्षहरूबीच फरक धारणा देखिन थालेको छ। यसअघि जिल्ला तहमा आयोजित महाधिवेशनसम्बन्धी बैठकमा उपसभापति छन्त्यालसहित केही जिल्ला पदाधिकारी सहभागी नभएको विवरण सार्वजनिक भएको थियो।

    छन्त्याल नेपाली कांग्रेस बागलुङका निर्वाचित जिल्ला उपसभापति हुन्। १४औँ जिल्ला अधिवेशनमा उनी उपसभापति पदमा निर्वाचित भएका थिए।

    कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर संस्थापन र संस्थापनइतर पक्षबीच फरक–फरक कार्यतालिका सार्वजनिक भएसँगै जिल्ला तथा स्थानीय तहमा पनि संगठनात्मक तयारी तीव्र हुन थालेको छ। संस्थापनइतर पक्षले भने विवाद समाधानका लागि संवाद र सहमतिमार्फत साझा महाधिवेशन गर्नुपर्ने धारणा सार्वजनिक गर्दै आएको छ।



    फास्ट न्युज    
  • २०८३ आश्विन १, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट