logo

२०८३ आश्विन २ शुक्रबार

logo
  • २०८३ आश्विन २ शुक्रबार
  • गणेशमान सिंहको २९औँ स्मृति दिवस आज, कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रम गर्दै

    772Shares
    गणेशमान सिंहको २९औँ स्मृति दिवस आज, कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रम गर्दै

    काठमाडौं । २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर एवं नेपाली कांग्रेसका नेता गणेशमान सिंहको २९औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । नेपाली कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संस्थाले सिंहको योगदानको स्मरण गर्दै विविध कार्यक्रम गर्न लागेका हुन् ।

    नेपाली राजनीतिमा त्याग, साहस र निष्ठाका प्रतीकका रूपमा स्मरण गरिने सिंहले २०४६ सालको जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रह अस्वीकार गरेका थिए । उनले आफ्ना समकक्षी कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीका रूपमा अघि सारेका थिए ।

    विसं १९७२ कात्तिक २४ गते काठमाडौंको क्षेत्रपाटीमा जन्मिएका सिंहको २०५४ साल असोज २ गते निधन भएको थियो । उनले राणाशासनविरुद्धको आन्दोलनमा सक्रिय हुँदै प्रजा परिषद्को सदस्यका रूपमा राजनीतिक यात्रा सुरु गरेका थिए ।

    २००७ सालको क्रान्तिअघि भद्रगोल जेलबाट भागेर भारत पुगेका सिंहले त्यहाँ बीपी कोइरालासँग राजनीतिक सम्बन्ध स्थापित गरेका थिए । २००३ सालमा स्थापना भएको नेपाली राष्ट्रिय कांग्रेसको नेतृत्वसमेत उनले गरेका थिए ।

    २००७ सालमा प्रजातन्त्र स्थापनाका लागि भएको सशस्त्र क्रान्तिमा सिंहले वीरगन्ज मोर्चाको नेतृत्व गरेका थिए । त्यसपछि २०१५ सालको पहिलो आमनिर्वाचनपछि गठन भएको सरकारमा उनी वरिष्ठ मन्त्री बने ।

    २०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्र समाप्त गर्दै शासनसत्ता आफ्नो हातमा लिएपछि सिंहले लामो काराबास जीवन बिताउनुपरेको थियो । उनले सिंहदरबार र सुन्दरीजल बन्दीगृहमा करिब आठ वर्ष बिताएका थिए ।

    २०२५ सालमा बीपी कोइरालासँगै सुन्दरीजल बन्दीगृहबाट रिहा भएपछि सिंह भारत निर्वासनमा पुगेका थिए । निर्वासनका क्रममा उनले प्रजातन्त्र पुनःस्थापनाका लागि राजनीतिक संगठन विस्तार तथा आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरे ।

    २०४६ सालको जनआन्दोलनमा वामपन्थी दलहरूसँग समेत सहकार्य गर्दै आन्दोलनको नेतृत्व गरेका सिंहलाई सो आन्दोलन सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने नेताका रूपमा स्मरण गरिन्छ।



    फास्ट न्युज    
  • २०८३ आश्विन २, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट