जनकपुर । मधेश प्रदेशमा पहिलोपटक महिला खेलाडीहरूका लागि ‘सहिद कप महिला क्रिकेट लिग प्रतियोगिता २०८३’ सुरु भएको छ । बिहीबारदेखि सुरु भएको प्रतियोगितामा मधेशका आठवटै जिल्लाका महिला क्रिकेट खेलाडीहरूको सहभागिता रहेको छ ।
मधेश खेलकुद परिषद्को अगुवाइ तथा धनुषा जिल्ला क्रिकेट संघको सहकार्यमा आयोजित प्रतियोगिता आठ दिनसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा समूह ‘ए’ र समूह ‘बी’ गरी कुल १५ खेल हुनेछन् ।
समूह ‘ए’ मा पर्सा, बारा, रौतहट र सर्लाही रहेका छन् भने समूह ‘बी’ मा महोत्तरी, धनुषा, सप्तरी र सिरहा सहभागी छन् । लिग चरणका खेल सम्पन्न भएपछि फाइनल खेल जेठ ७ गते हुने आयोजकले जनाएको छ ।
मधेश प्रदेश सरकारले प्रतियोगिताका लागि ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । विजेता टोलीसहित म्यान अफ द म्याच र म्यान अफ द लिगलाई ट्रफी तथा मेडल प्रदान गरिनेछ ।
उद्घाटन दिन धनुषा र महोत्तरीबीच पहिलो खेल हुँदैछ भने अर्को खेल सप्तरी र सिरहाबीच हुनेछ ।
उद्घाटन कार्यक्रममा मधेश प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालयका निमित्त सचिव सुशील कुमार शाह ले महिला खेलाडीहरूको प्रोत्साहन तथा नयाँ प्रतिभाको पहिचानका लागि प्रतियोगिता आयोजना गरिएको बताए ।
त्यसैगरी मनोज कुमार साह ले जनकपुरधाममा रंगशाला निर्माण प्रक्रिया अगाडि बढिरहेको जानकारी दिँदै खेल पूर्वाधार विकाससँगै शहरको समग्र विकासले गति लिने विश्वास व्यक्त गरे ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया