logo

२०८३ असार १७ बुधबार

logo
  • २०८३ असार १७ बुधबार
  • साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल भित्रिने, किसानलाई राहत दिने सरकारको तयारी

    802Shares
    साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल भित्रिने, किसानलाई राहत दिने सरकारको तयारी

    काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ । धान खेतीका लागि आवश्यक मलको आपूर्ति सुनिश्चित गर्दै किसानलाई राहत दिने उद्देश्यले मन्त्रालयले विभिन्न माध्यमबाट मल आयात प्रक्रिया अघि बढाएको हो ।

    मन्त्रालयका अनुसार सरकार–सरकार (जीटूजी) सम्झौताअन्तर्गत भारतबाट ३० हजार मेट्रिक टन युरिया मल ल्याइँदै छ । उक्त मल असार अन्तिमदेखि साउन दोस्रो साताभित्र नेपाल आइपुग्ने अपेक्षा गरिएको छ । भारतसँग भएको ८० हजार मेट्रिक टन मल आपूर्ति सम्झौताअनुसार पहिलो चरणमा ५० हजार मेट्रिक टन मल साउन दोस्रो सातासम्म नेपाल भित्रिने मन्त्रालयले जनाएको छ ।

    त्यसैगरी, अन्तर्राष्ट्रिय टेन्डरमार्फत १ लाख ८० हजार मेट्रिक टन रासायनिक मल आयात गरिनेछ । यसमध्ये ६० हजार मेट्रिक टन डीएपी र १ लाख २० हजार मेट्रिक टन युरिया रहेको मन्त्रालयले जनाएको छ । यी मल साउनको पहिलो सातासम्म नेपाल भित्र्याउने लक्ष्य राखिएको छ ।

    साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका अनुसार ओमानमा लोडिङ प्रक्रियामा रहेको ३० हजार मेट्रिक टन युरिया मल असार अन्तिमसम्म कलकत्ता बन्दरगाह आइपुग्नेछ भने साउन दोस्रो सातासम्म नेपाल भित्रिनेछ ।

    यस्तै, ३० हजार मेट्रिक टन डीएपी मल होर्मुज पार गरी विशाखापट्टनम बन्दरगाह पुगिसकेको र असार १० देखि २० गतेभित्र नेपाल ल्याइने तयारी छ । अर्को ३० हजार मेट्रिक टन युरिया मल जहाजमा लोड भइसकेको र साउन पहिलो साता कलकत्ता बन्दरगाह हुँदै साउन अन्तिमसम्म नेपाल आइपुग्ने जनाइएको छ ।

    मन्त्रालयले मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा मलको उपलब्धता प्रभावित भए पनि किसानलाई आवश्यक मल उपलब्ध गराउन निरन्तर प्रयास भइरहेको जनाएको छ ।

    चालु आर्थिक वर्षमा करिब ६ लाख मेट्रिक टन रासायनिक मल कृषकलाई अनुदानमा उपलब्ध गराउने सरकारको लक्ष्य रहेको छ ।



    फास्ट न्युज    
  • २०८३ असार १७, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट