काठमाडौं । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकारका अधिकार सुनिश्चित गर्न दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणप्रति अनुदार व्यवहार देखाएको आरोप लगाउँदै महासंघ आन्दोलनमा उत्रिएको हो ।
महासंघले समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको, प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने उद्देश्यले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास भएको तथा सञ्चारमाध्यममा अवरोध पुर्याउनेमाथि कारबाही नभएको आरोप लगाएको छ ।
त्यस्तै, गोरखापत्रलगायत सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबरजस्ती निष्कासन गरिएको, श्रम अधिकार उल्लंघन भएको र लोककल्याणकारी विज्ञापनबापत पत्रपत्रिकाले पाउनुपर्ने रकम प्रेस काउन्सिल नेपालको सिफारिसअनुसार उपलब्ध नगराइएको विषयलाई पनि महासंघले आन्दोलनको कारणका रूपमा उल्लेख गरेको छ ।
पहिलो चरणको आन्दोलन देशव्यापी रूपमा सफलतापूर्वक सम्पन्न भए पनि सरकारले आफ्ना मागलाई बेवास्ता गरेको महासंघको भनाइ छ । सरकारमाथि थप दबाब सिर्जना गर्न तथा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई आफ्ना मागप्रति सहमत गराउन दोस्रो चरणको आन्दोलन घोषणा गरिएको महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
घोषित कार्यक्रमअनुसार मंसिर १३ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यालयमा एक घण्टा धर्ना दिइनेछ । ‘संकटमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता : रास्वपाको सरकारले सुनेन, सत्ताधारी दलले सुनिदेऊ’ भन्ने नारासहित बिहान ११ बजेदेखि दिउँसो १२ बजेसम्म धर्ना कार्यक्रम सञ्चालन गरिने महासंघले जनाएको छ ।
त्यस्तै, मंसिर १४ गते प्रमुख विपक्षी दल नेपाली कांग्रेसको कार्यालयमा ‘संकटमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता : प्रमुख विपक्षी दल किन मौन ?’ भन्ने नारासहित धर्ना दिइनेछ ।
मंसिर १५ गते नेकपा (एमाले), १६ गते नेपाली कम्युनिस्ट पार्टी (नेकपा), १७ गते श्रम संस्कृति पार्टी र १८ गते राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को कार्यालयमा धर्ना दिने कार्यक्रम तय गरिएको छ ।
यसैगरी, मंसिर २० गते काठमाडौंको माइतीघर तथा काठमाडौं बाहिरका जिल्लाका सदरमुकाममा कालो लुगा, कालोपट्टी र कालो मास्क लगाएर प्रदर्शन गरिने महासंघले जनाएको छ ।
महासंघका अनुसार जिल्ला शाखाले जिल्ला समिति, प्रदेश समितिले प्रदेश समिति तथा काठमाडौं उपत्यकाका जिल्ला शाखा, प्रदेश समिति र केन्द्रीय समितिले केन्द्रीय कार्यालयमा बिहान ११ देखि १२ बजेसम्म कार्यक्रम सञ्चालन गर्नेछन् ।
महासंघले कुनै पनि राजनीतिक दलले आफ्ना मागप्रति लिखित ऐक्यबद्धता जनाउँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति प्रतिबद्धता व्यक्त गरेमा उक्त दलको कार्यालयमा धर्ना नदिने स्पष्ट पारेको छ ।
आन्दोलनका यी कार्यक्रमपछि पनि माग सम्बोधन नभए तेस्रो चरणको आन्दोलन घोषणा गरिने महासंघले जनाएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया