खोटाङ । जन्तेढुंगा गाउँपालिकाले स्थानीय किसानले उत्पादन गरेको आलु तथा फापरको उचित बजार सुनिश्चित गर्ने उद्देश्यले यी बालीको न्यूनतम खरिद मूल्य निर्धारण गरेको छ। गाउँपालिकाले सार्वजनिक गरेको सूचनाअनुसार आर्थिक वर्ष २०८३/०८४ अन्तर्गत सञ्चालित ‘आलु खेती प्रवर्द्धन कार्यक्रम’ बाट उत्पादन भएको आलु तथा फापरको बिक्री–वितरणका लागि स्थानीय राजस्व परामर्श समितिको निर्णयअनुसार मूल्य निर्धारण गरिएको हो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन गुरागाईंद्वारा जारी सूचनाअनुसार स्थानीय राजस्व परामर्श समितिको बैठकले आलुको न्यूनतम मूल्य प्रतिकिलो ६० रुपैयाँ तथा फापरको मूल्य प्रतिकिलो ३० रुपैयाँ कायम गरेको छ। साथै ५० किलोग्रामभन्दा बढी आलु खरिद गर्ने ग्राहकलाई प्रतिकिलो २ रुपैयाँ छुट प्रदान गर्ने व्यवस्था समेत गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले यो निर्णयले किसानलाई उत्पादनको उचित मूल्य सुनिश्चित गर्न, बिचौलियाको प्रभाव घटाउन तथा स्थानीय कृषि उत्पादनलाई प्रोत्साहन पुग्ने विश्वास व्यक्त गरेको छ। आवश्यकता अनुसार स्थानीय राजस्व परामर्श समितिको निर्णयबाट मूल्य परिमार्जन गर्न सकिने पनि सूचनामा उल्लेख गरिएको छ।
जन्तेढुंगा गाउँपालिका पछिल्ला वर्षहरूमा कृषि उत्पादनलाई आयआर्जनसँग जोड्ने नीति लिएर अघि बढिरहेको छ। विशेषगरी आलु, फापर, मकै, अदुवा लगायतका स्थानीय उत्पादनको व्यवसायीकरण, किसानलाई प्राविधिक सहयोग, बीउ तथा कृषि सामग्री वितरण, बजार व्यवस्थापन र उत्पादन वृद्धिका कार्यक्रम सञ्चालन गर्दै आएको छ। गाउँपालिकाले कृषिलाई स्थानीय आर्थिक विकासको प्रमुख आधारका रूपमा अघि बढाउँदै किसानको उत्पादन बिक्रीमा सहजता ल्याउने प्रयास गरिरहेको छ।
स्थानीय किसानहरूले पनि गाउँपालिकाको यो निर्णयले उत्पादनको न्यूनतम मूल्य सुनिश्चित हुने, बजारमा मूल्यको अनिश्चितता कम हुने र आगामी वर्ष अझ बढी उत्साहका साथ खेती विस्तार गर्न प्रेरणा मिल्ने अपेक्षा व्यक्त गरेका छन्। गाउँपालिकाको यो कदमले कृषि क्षेत्रलाई व्यवस्थित गर्दै स्थानीय उत्पादनको बजारीकरणमा थप टेवा पुग्ने विश्वास गरिएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया