काठमाडौं । रुस–युक्रेन युद्ध अन्त्यका लागि कूटनीतिक पहल तीव्र भइरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दुई विशेष दूत मस्कोबाट किभतर्फ लागेका छन् । विशेष दूत स्टिभ विट्कफ र जेरेड कुशनरले शनिबार मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेपछि आइतबार युक्रेनको राजधानी किभतर्फ जाने भएका हुन् ।
मस्कोमा भएको भेटवार्तालाई युद्ध अन्त्यका लागि नयाँ अमेरिकी प्रस्ताव अघि बढाउने प्रयासका रूपमा हेरिएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्ना दूतमार्फत रुससमक्ष युद्ध अन्त्य गर्ने ‘ठोस प्रस्ताव तथा अवधारणा’ पठाइएको बताएका छन् ।
अमेरिकी टोलीसँगको वार्तापछि रुसले किभमाथि तीन दिनसम्म हवाई आक्रमण नगर्ने निर्णय गरेको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले राष्ट्रपति पुटिनकै आदेशमा उक्त निर्णय भएको पुष्टि गरेका छन् । यसको बदलामा युक्रेनले पनि मस्कोमाथि हवाई तथा ड्रोन हमला नगर्ने प्रतिबद्धता जनाएको बताइएको छ ।
यस घटनाक्रमले युद्धविरामका लागि तत्कालै सीमित सहमतिको सम्भावना देखाए पनि दीर्घकालीन शान्ति सम्झौताका प्रमुख विषय भने अझै जटिल छन् ।
पुटिनका वैदेशिक मामिला सल्लाहकार युरी उसाकोभका अनुसार अमेरिकी दूतहरू गम्भीर तयारीका साथ मस्को पुगेका थिए र उनीहरूले शान्ति प्रक्रियासँग सम्बन्धित केही नयाँ विचार प्रस्तुत गरेका थिए । मस्कोमा भएको छलफलपछि उनीहरूले ती प्रस्ताव तथा वार्ताको अवस्थाबारे युक्रेनी नेतृत्वसँग छलफल गर्ने अपेक्षा गरिएको छ ।
ट्रम्प पुनः अमेरिकी राष्ट्रपतिको जिम्मेवारीमा फर्किएपछि विट्कफ र कुशनरको यो पहिलो युक्रेन भ्रमण हुनेछ । किभमा उनीहरूले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेट गरी पुटिनसँग भएको छलफल र अमेरिकी प्रस्तावका विषयमा जानकारी गराउने अपेक्षा गरिएको छ ।
तर, युद्ध अन्त्यको बाटोमा सबैभन्दा कठिन प्रश्न भने भूभाग र सुरक्षासँग जोडिएका छन् । डोनबास र क्रिमियाको भविष्य, युक्रेनको सार्वभौमिकता तथा भविष्यको सुरक्षा ग्यारेन्टी र युक्रेनको सम्भावित नेटो सदस्यतालगायत विषयमा रुस र युक्रेनबीच अझै गहिरो मतभेद छ ।
रुसले आफूले नियन्त्रणमा लिएका क्षेत्रको अवस्थालाई वार्ताको महत्वपूर्ण विषय बनाउँदै आएको छ भने युक्रेनले आफ्नो भूभाग त्यागेर शान्ति सम्झौता गर्न नसकिने धारणा राख्दै आएको छ । युक्रेनको सुरक्षा र भविष्यमा पश्चिमी सैन्य गठबन्धनसँगको सम्बन्धलाई लिएर पनि दुवै पक्षको धारणा विपरीत छ ।
यस्तो अवस्थामा मस्कोमा अमेरिकी दूत र पुटिनबीच भएको वार्ता तथा त्यसलगत्तै किभ भ्रमणले लामो समयदेखि अवरुद्ध रुस–युक्रेन संवादलाई पुनः सक्रिय बनाउने प्रयासका रूपमा महत्व पाएको छ । यद्यपि तीन दिनको सीमित हवाई युद्धविराम दीर्घकालीन शान्ति प्रक्रियामा परिणत हुन्छ कि हुँदैन भन्ने विषय आगामी कूटनीतिक वार्तामा निर्भर रहनेछ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया