काठमाडौं । चीनतर्फबाट आएको भीषण बाढीका कारण त्रिशूली नदी र आसपासका क्षेत्रमा सडक तथा पुल पूर्वाधारमा ठूलो क्षति पुगेपछि अवरुद्ध राजमार्ग र रणनीतिक सडक खुलाउन सरकारले आपत्कालीन पुनर्निर्माणलाई तीव्रता दिएको छ। सडक विभागका अनुसार धादिङ, नुवाकोट र रसुवामा मात्रै करिब ५५ किलोमिटर सडक र ३५ वटा पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।
बाढीबाट भएको क्षतिको प्रारम्भिक अनुमान करिब ३० अर्ब रुपैयाँ रहेको विभागले जनाएको छ। सडक र पुलको ठूलो संरचना एकैपटक क्षतिग्रस्त भएपछि दीर्घकालीन पुनर्निर्माणसँगै तत्काल यातायात सञ्चालनमा ल्याउने चुनौती सरकारसामु छ। त्यसका लागि क्षतिग्रस्त सडकमा नयाँ ट्रयाक खोल्ने तथा बगेका पुलको स्थानमा बेलिब्रिज र एक्रो ब्रिज जडान गर्ने कामलाई प्राथमिकतामा राखिएको छ।
नुवाकोटको विदुरस्थित देवीघाटमा बाढीले पुल बगाएपछि रोकिएको यातायात सञ्चालनमा ल्याउन नेपाली सेनाले ६० मिटर लामो एक्रो ब्रिज जडान सुरु गरेको छ। भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीले देवीघाटस्थित तादी खोलामाथिको करिब ५५ मिटर लामो पक्की पुल बगाएको थियो। बगेको पुलको अबुटमेन्टलाई आधार बनाएर नयाँ एक्रो ब्रिज जडान गर्न लागिएको हो।
सडक विभागका प्रवक्ता शुभराज न्यौपानेका अनुसार पुलको सिभिल संरचना निर्माणको काम विभागले गरिरहेको छ भने पुल जडानको प्राविधिक काम नेपाली सेनाले सम्हालेको छ। देवीघाटमा पुल तयार भएपछि गल्छी–त्रिशूली हुँदै रसुवातर्फको सडक सम्पर्क सहज हुने अपेक्षा गरिएको छ।
सडक विभागले क्षतिग्रस्त ३५ पुलमध्ये तत्काल तीन स्थानमा बेलिब्रिज जडान गरी गल्छी–त्रिशूली–स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डलाई अस्थायी रूपमा सञ्चालनमा ल्याउने तयारी गरेको छ। त्रिशूली बजार र बेत्रावतीमा पनि करिब ४८ मिटर लामो पुल आवश्यक पर्ने देखिएको विभागले जनाएको छ।
यस्तै, रसुवाको स्याफ्रुबेँसीमा बाढीले पुल बगाएपछि करिब ७५ मिटर लामो बेलिब्रिज आवश्यक पर्ने देखिएको छ। विभाग र नेपाली सेनासँग बेलिब्रिजका सामग्री उपलब्ध भए पनि क्षतिग्रस्त स्थानसम्म ती सामग्री पुर्याउन नै समस्या भइरहेको छ। तल्लो खण्डको सडक अवरुद्ध रहेकाले पुलका सामग्री घटनास्थलसम्म ढुवानी गर्न नसकिएको विभागले जनाएको छ।
प्रवक्ता न्यौपानेका अनुसार अहिलेको मुख्य चुनौती नै बेलिब्रिज जडान गर्नुपर्ने स्थानसम्म सडक पहुँच पुर्याउनु हो। सडक खुल्नेबित्तिकै क्षतिग्रस्त स्थानमा बेलिब्रिज जडानको कामले गति लिने उनको भनाइ छ।
यसैबीच चीन सरकारले कोराला नाकामा बेलिब्रिजका सामग्री उपलब्ध गराएको छ। ती सामग्री नेपाल ल्याएर आवश्यकता र क्षतिको अवस्थाअनुसार रसुवागढी वा अन्य क्षतिग्रस्त स्थानमा जडान गर्ने तयारी भइरहेको विभागले जनाएको छ।
बाढीले सडक र पुलको ठूलो सञ्जालमा क्षति पुर्याएपछि सरकारका लागि अहिलेको तत्कालीन प्राथमिकता स्थायी पुनर्निर्माणभन्दा पहिले टुटेको सडक सम्पर्क पुनःस्थापित गर्नु बनेको छ। सडकतर्फ नयाँ ट्रयाक खोल्ने र पुलतर्फ बेलिब्रिज तथा एक्रो ब्रिज जडान गर्ने कामलाई सँगसँगै अघि बढाएर उत्तरी नाकासम्मको यातायात सम्पर्क पुनः सञ्चालन गर्ने प्रयास भइरहेको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया