logo

२०८३ कार्तिक १८ मंगलवार

logo
  • २०८३ कार्तिक १८ मंगलवार
  • भुटानमा हिमताल विस्फोटपछि भीषण बाढी, चर्चित गासा छाचु तातोपानी परिसर बगायो

    841Shares
    भुटानमा हिमताल विस्फोटपछि भीषण बाढी, चर्चित गासा छाचु तातोपानी परिसर बगायो

    काठमाडौं । भुटानको सिन्ताफु तालमा हिमताल विस्फोट (ग्लेसियर लेक आउटबर्स्ट फ्लड–ग्लोफ) भएपछि आएको बाढीले गासा जिल्लास्थित चर्चित गासा छाचु तातोपानी परिसर पूर्ण रूपमा बगाएको छ ।

    बाढीका कारण पुनाखा–गासा राजमार्गको एक खण्डमा समेत ठूलो क्षति पुगेको छ । डेली भुटानका अनुसार अधिकारीहरूले क्षतिको विस्तृत विवरण संकलन गरिरहेका छन् ।

    हिमतालमा जम्मा भएको पानी प्राकृतिक बाँध अर्थात् मोरेन कमजोर भएर वा भत्किएर एक्कासि बाहिर निस्कने घटनालाई हिमताल विस्फोट भनिन्छ । यस्तो बाढी पहाडी खोँच हुँदै तीव्र गतिमा तलतिर बग्ने क्रममा हिलो, ढुङ्गा तथा अन्य अवशेषसमेत बगाएर लैजान्छ । यसले सडक, पुल र बस्तीमा ठूलो क्षति पुर्‍याउन सक्छ ।

    डेली भुटानले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार बाढीले मोछु नदी किनारमा रहेको गासा छाचु तातोपानी परिसर पूर्ण रूपमा बगाएको हो । उक्त क्षेत्र गासा जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यसमेत हो । क्षतिको वास्तविक अवस्था भने अझै मूल्यांकन भइरहेको छ ।

    त्यस्तै, पुनाखा–गासा सेकेन्डरी नेसनल हाइवेअन्तर्गत ३१.८५ किलोमिटर क्षेत्रमा रहेको सडक खण्ड पनि पूर्ण रूपमा बगाएको छ । सडकमा क्षति पुगेपछि अधिकारीहरूले अर्को सूचना जारी नभएसम्म सबै प्रकारका सवारीसाधनको आवागमन बन्द गरेका छन् ।

    यात्रुहरूलाई अत्यावश्यक कामबाहेक यात्रा नगर्न तथा यात्रा गर्नैपर्ने अवस्था भए प्रस्थान गर्नुअघि वैकल्पिक मार्ग र यातायातको व्यवस्था सुनिश्चित गर्न आग्रह गरिएको छ ।

    गत बिहीबार अक्टोबर २९ को साँझ भुटानको उत्तरी गासा जिल्लास्थित लुङ्गोको लाया गेओगमा वाकिला हिमाल नजिक रहेको सिन्ताफु तालमा हिमताल विस्फोट भएको बताइएको छ ।

    डेली भुटानका अनुसार बिहीबार राति करिब ८ः१५ बजे बाढीको पानी तक्त्सेमाखाङ पुगेको थियो । बाढीले दुर्गम उच्च पहाडी बस्ती लाया जोड्ने सडकको एक खण्डमा क्षति पुर्‍याएपछि उक्त सडकसमेत बन्द गरिएको थियो । लाया भुटानका दुर्गम उच्च पहाडी बस्तीमध्ये एक हो ।

    सम्भावित जोखिममा रहेका क्षेत्रका बासिन्दालाई सावधानीस्वरूप सुरक्षित स्थानमा सारिएको थियो भने जोखिमबारे सचेत गराउन चेतावनीका साइरनसमेत बजाइएको थियो । अक्टोबर ३० को बिहानसम्म मानवीय क्षति वा कोही घाइते भएको विवरण प्राप्त नभएको जनाइएको छ ।

    तालबाट पानी बाहिरिनुको वास्तविक कारण, बाहिरिएको पानीको परिमाण तथा क्षतिको पूर्ण विवरण भने अझै पुष्टि हुन सकेको छैन । अधिकारीहरूले तालको अवस्था र तल्लो तटीय क्षेत्रमा परेको प्रभावबारे निरन्तर निगरानी तथा मूल्यांकन गरिरहेका छन् ।

    सिन्ताफु तालको पानी मोछु नदीमा मिसिन्छ । उक्त नदी गासा र पुनाखा हुँदै दक्षिणतर्फ बग्छ । पुनाखामा मोछु र फोछु नदी एकआपसमा मिसिएर पुनात्साङछु नदी बन्छ । यही नदी भारत प्रवेश गरेपछि संकोश नदीका रूपमा चिनिन्छ ।

    डेली भुटानका अनुसार सिन्ताफु मोछु नदीको मुहान क्षेत्रमा अवस्थित उच्च हिमाली हिमताल हो । भुटानको आधिकारिक सूचीमा यसलाई सम्भावित जोखिमयुक्त १७ हिमतालमध्ये एकका रूपमा राखिएको छ ।

    सम्भावित जोखिमयुक्त सूचीमा राखिनुको अर्थ उक्त तालमा हिमताल विस्फोट हुने निश्चित छ भन्ने होइन । बरु, सम्भावित जोखिमलाई ध्यानमा राख्दै निरन्तर निगरानी आवश्यक रहेको भन्ने हो ।

    भुटानी विज्ञहरूले सन् २०२३ को मेदेखि जुन महिनासम्म उक्त तालको अध्ययन गरेका थिए । अध्ययनपछि त्यस क्षेत्रमा निगरानीका उपकरणसमेत जडान गरिएको थियो ।

    अध्ययनका क्रममा मुख्य तथा माथिल्लो तालको मापन, आसपासको भौगोलिक अवस्था, प्राकृतिक बाँधको परीक्षण र तालमा पानी आपूर्ति गर्ने हिमनदीको निगरानी गरिएको थियो । सम्भावित हिमतालजन्य बाढीको जोखिम न्यूनीकरण तथा निगरानी प्रभावकारी बनाउन भुटानले त्यस क्षेत्रमा थप उपकरणसमेत जडान गरेको छ ।

    सिन्ताफु तालमा हिमताल विस्फोट भएको खबरपछि छिमेकी भारतमा पनि सतर्कता अपनाइएको थियो । विशेषगरी उत्तर बंगालका संकोश नदी तथा यसका सहायक नदी किनारमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको थियो ।

    यसैबीच, भारतको केन्द्रीय जल आयोग (सीडब्लूसी) ले भुटानको सिन्ताफु तालमा भएको हिमताल विस्फोटपछि पश्चिम बंगाल र आसामका लागि विशेष बाढी चेतावनी जारी गरेको छ ।

    आयोगले पश्चिम बंगालको अलिपुरद्वार र आसामको धुब्री जिल्लामा नदीको जलस्तर अचानक बढ्न सक्ने चेतावनी दिएको छ । दुवै राज्यलाई सतर्क अवस्थामा राख्दै स्थानीय प्रशासनलाई संकोश नदीको जलस्तर र बहाव नजिकबाट निगरानी गर्न तथा आवश्यक सावधानीका उपाय अपनाउन निर्देशन दिइएको छ ।



    फास्ट न्युज    
  • २०८३ कार्तिक १४, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट