काठमाडौं। अविरल वर्षाका कारण देशका विभिन्न राजमार्गमा पहिरो र बाढीले यातायात सेवा प्रभावित बनेपछि यात्रुहरूले गन्तव्यमा पुग्न थप सास्ती व्यहोर्नुपरेको छ। केही मुख्य सडक पूर्ण रूपमा बन्द हुँदा कतिपय स्थानमा भने एकतर्फी सञ्चालन गरिएको छ भने जोखिमयुक्त सडकमा रातिको सवारीसमेत रोकिएको छ।
नेपाल प्रहरीका अनुसार सिन्धुपाल्चोकको अरनिको राजमार्ग, मुस्ताङको बेनी–जोमसोम सडक, रुकुम पश्चिमको भेरी कोरिडोर, रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेशी सडक तथा दोलखाको लामासाँगु–रामेछाप सडकखण्डमा आवतजावत पूर्ण रूपमा बन्द रहेको छ। लगातारको वर्षापछि पहिरो र बाढीका कारण यी सडकमा यात्रा असम्भव बनेको हो।
यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै काभ्रेको बीपी राजमार्ग र मकवानपुरको कान्ति लोकपथमा रातिको समयमा सवारी सञ्चालनमा अस्थायी रोक लगाइएको छ। मौसम प्रतिकूल हुँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले यस्तो निर्णय गरिएको सुरक्षा निकायको भनाइ छ।
यद्यपि, काठमाडौंको सितापाइला–धार्के सडक, भोजपुरको मध्यपहाडी लोकमार्ग, बागलुङको कालीगण्डकी कोरिडोर र मनाङको चामे–बेसीसहर सडकमा पहिरो हटाएर एकतर्फी यातायात सञ्चालन गरिएको छ। सम्बन्धित निकायले अवरुद्ध सडक खुलाउने प्रयास जारी राखेका छन्।
मनसुन सक्रिय रहेकाले आगामी दिनमा पनि सडक अवस्था थप प्रभावित हुन सक्ने अनुमान गरिएको छ। प्रहरीले यात्रा अघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्था बुझ्न, आवश्यक परे यात्रा स्थगित गर्न र जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया