काठमाण्डाै। बागमती प्रदेश सरकारमा सत्ता समीकरण फेरिएसँगै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले तीन जना बिनाविभागीय मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी दिएका छन्।
मुख्यमन्त्री बानियाँले कांग्रेसका विनु रायमाझीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, सुरेश श्रेष्ठलाई उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय र उर्मिला नेपाललाई कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकेका हुन्।
यसअघि उनीहरू बिनाविभागीय मन्त्रीका रूपमा मन्त्रिपरिषद्मा रहेका थिए। एमालेले सरकारबाट समर्थन फिर्ता लिएर आफ्ना मन्त्रीहरूले राजीनामा दिएपछि रिक्त भएका मन्त्रालयमा कांग्रेसका मन्त्रीलाई जिम्मेवारी बाँडिएको हो।
मुख्यमन्त्री बानियाँले नयाँ कार्यविभाजनको सिफारिस प्रदेश प्रमुखसमक्ष समेत पठाइसकेका छन्।
यसअघि कांग्रेसबाट स्वास्थ्य तथा सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बादे, आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री शिवराज अधिकारी र आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले आ–आफ्नो मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन्।
बुधबार एमालेका ६ जना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठनको प्रक्रिया अघि बढेको हो।
प्रतिक्रिया