काठमाडौं । राजधानीमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गरी महँगोमा बिक्री गर्ने प्रयास भएको खुलेको छ । काठमाडौँको तीनकुनेस्थित गैरीगाउँबाट प्रहरीले एकैपटक ७०५ सिलिन्डर ग्यास बरामद गरेपछि ग्यासको कालोबजारीको विषय फेरि सतहमा आएको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई वटा ठूला ट्रकमा लोड गरिएको अवस्थामा ठूलो परिमाणमा ग्यास बरामद गरेको हो । बरामद ग्यास नेपाल ग्यास कम्पनीका सिलिन्डर रहेको प्रहरीले जनाएको छ ।
ग्यास कालोबजारी गरेको आरोपमा प्रहरीले बसुन्धारास्थित जय श्री बालाजी ग्यास स्टोरका सञ्चालक दिनेश लुइँटेललाई पक्राउ गरेको छ । ३८ वर्षीय लुइँटेल मोरङको ग्रामथान गाउँपालिका–२ का स्थानीय हुन् ।
प्रहरीका अनुसार लुइँटेलले उपभोक्तालाई नियमित मूल्यभन्दा महँगोमा ग्यास बिक्री गर्दै आएका थिए । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले लुइँटेलले प्रति सिलिन्डर २ हजार ७५० रुपैयाँमा ग्यास बेच्ने गरेको पाइएको बताए ।
त्यति मात्र होइन, नयाँ सिलिन्डरको मूल्य झनै चर्को राखिएको प्रहरीको भनाइ छ । एसपी कार्कीका अनुसार आरोपीले नयाँ सिलिन्डर ५ हजार रुपैयाँमा बिक्री गर्ने गरेको पाइएको छ ।
एकैपटक ७०५ सिलिन्डर दुई वटा ठूला ट्रकमा लोड गरिएको अवस्थामा भेटिनुले ग्यासको भण्डारण र बिक्री प्रक्रियामाथि समेत प्रश्न उठाएको छ । ठूलो परिमाणमा सिलिन्डर थुपारेर उपभोक्तालाई महँगोमा बिक्री गर्ने गतिविधि कालोबजारीसँग जोडिएको प्रहरीको अनुसन्धानले देखाएको छ ।
ग्यासजस्तो अत्यावश्यक वस्तु ठूलो परिमाणमा नियन्त्रणमा राखेर चर्को मूल्यमा बिक्री गरिनुले उपभोक्तामाथि प्रत्यक्ष असर पार्ने देखिन्छ । प्रहरीले बरामद ग्यास र पक्राउ परेका लुइँटेलमाथि थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
प्रहरीको अनुसन्धानसँगै ७०५ सिलिन्डर ग्यास कहाँबाट आयो, कसरी भण्डारण गरियो र यसमा अन्य व्यक्तिको संलग्नता छ कि छैन भन्ने विषय पनि खुल्ने अपेक्षा गरिएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया