logo

२०८३ भाद्र २७ शनिबार

logo
  • २०८३ भाद्र २७ शनिबार
  • कांग्रेसमा एकताको अपिल, तर अपिलकर्ता नेताहरूमध्ये केही गगनसँग निरन्तर सम्पर्कमा रहेको दाबी

    793Shares
    कांग्रेसमा एकताको अपिल, तर अपिलकर्ता नेताहरूमध्ये केही गगनसँग निरन्तर सम्पर्कमा रहेको दाबी

    काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद उत्कर्षमा पुगेका बेला २५ जना नेताले पार्टी एकताका लागि सामूहिक अपिल गरेका छन् । तर, एकताका लागि अपिल गर्ने नेताहरूमध्ये केही नेता कांग्रेसको आधिकारिकता सभापति गगन थापा नेतृत्वतर्फ जाने सम्भावनालाई ध्यानमा राखेर उनीसँग भित्री सम्पर्क र सम्बन्ध विस्तारमा रहेको एक नेताले दाबी गरेका छन् ।

    शुक्रबार सामूहिक वक्तव्य जारी गर्दै नेताहरूले देश गम्भीर संकटमा रहेको र राजनीतिक अस्थिरता बढिरहेका बेला कांग्रेसको एकता अनिवार्य भएको बताएका हुन् । उनीहरूले पार्टीभित्रको आन्तरिक कलहले कांग्रेसलाई मात्र नभई समग्र राष्ट्रिय राजनीतिलाई समेत गलत दिशातर्फ धकेलिरहेको भन्दै तत्काल विवाद समाधानका लागि संवाद र सहमति अघि बढाउन आह्वान गरेका छन् ।

    विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा चयन भएपछि कांग्रेसभित्रको विवाद थप चर्किएको छ । संस्थापन पक्षले १५औँ महाधिवेशनको मिति तय गरेपछि इतर पक्षले पनि समानान्तर रूपमा पार्टीको महाधिवेशन गर्ने तयारी अघि बढाएको छ । दुई पक्षबीचको विवादले कांग्रेसको वैधानिकता, नेतृत्व र आगामी राजनीतिक दिशाबारे प्रश्न खडा भएको छ ।

    यही अवस्थामा डिना उपाध्याय, सुरेन्द्र पाण्डे, श्याम घिमिरे, जीवनबहादुर शाही, रामहरि खतिवडा, मीन विश्वकर्मा, नैनसिंह महरसहित २५ नेताले पार्टीलाई विभाजनको दिशामा जान नदिन तत्काल एकताको पहल गर्नुपर्ने बताएका छन् ।

    उनीहरूले १५औँ महाधिवेशनका लागि प्रकाशित कार्यतालिका तत्काल स्थगित गर्न, पार्टीका दुवै पक्षबीच यथाशीघ्र निर्णायक वार्ता सुरु गर्न तथा सबै नेताले अहंकार र व्यक्तिगत स्वार्थ त्यागेर पार्टीको बृहत् हितमा केन्द्रित हुन आह्वान गरेका छन् ।

    ‘१५औँ महाधिवेशनको संघारमा हामीले विभिन्न तीतामीठा अनुभवहरू प्राप्त गरेका छौँ । ती अनुभवबाट पाठ सिक्दै विगतका विवाद र मतभेद बोकेर बस्ने होइन, पार्टीलाई एकढिक्का बनाएर अघि बढ्नुपर्छ,’ उनीहरूको अपिलमा भनिएको छ ।

    तर, यही अपिललाई लिएर कांग्रेसभित्र अर्को राजनीतिक बहससमेत सुरु भएको छ । अपिलमा हस्ताक्षर गरेका केही नेताहरू पछिल्लो समय गगन थापासँग भित्री सम्पर्कमा रहेको र सम्बन्ध विस्तार गरिरहेको दाबी एक कांग्रेस नेताले गरेका छन् ।

    ती नेताका अनुसार डिना उपाध्याय, रामहरि खतिवडा, नैनसिंह महरसहित केही नेताहरू गगन थापासँग निरन्तर सम्पर्कमा छन् । पार्टीको आधिकारिकता अन्ततः गगन थापा नेतृत्वतर्फ जाने सम्भावना देखेर उनीहरूले आफ्नो राजनीतिक भविष्यलाई समेत ध्यानमा राखेर सम्बन्ध विस्तार गरिरहेको ती नेताको दाबी छ ।

    ‘उहाँहरूको चासो पार्टी एकतामा मात्रै सीमित देखिँदैन । पार्टीको आधिकारिकता गगनतिर जाने सम्भावना देखिएपछि आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्ने चिन्ता पनि देखिन्छ,’ ती कांग्रेस नेताले भने ।

    यद्यपि, ती नेताले गरेको दाबीको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन । एकताको अपिलमा हस्ताक्षर गर्ने नेताहरूले भने आफूहरूको पहललाई व्यक्तिगत स्वार्थभन्दा माथि राखेर पार्टीलाई विभाजनबाट जोगाउने प्रयासका रूपमा प्रस्तुत गरेका छन् ।

    कांग्रेसभित्र अहिले मूल विवाद पार्टीको आधिकारिक नेतृत्व, विशेष महाधिवेशनबाट भएको नेतृत्व परिवर्तन र १५औँ महाधिवेशनको प्रक्रियालाई लिएर केन्द्रित छ । एक पक्षले गगन थापा नेतृत्वलाई वैधानिक दाबी गरिरहेको छ भने अर्को पक्षले निर्धारित प्रक्रियाअनुसार १५औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने अडान राख्दै आएको छ ।

    यस्तो अवस्थामा २५ नेताको सामूहिक अपिलले पार्टीभित्र संवाद र सहमतिको वातावरण बनाउन दबाब सिर्जना गर्ने देखिए पनि अपिलकर्तामध्ये केही नेताको गगन थापासँगको सम्बन्ध र राजनीतिक निकटताबारे उठेको प्रश्नले कांग्रेसको एकता प्रयासभित्रै नयाँ राजनीतिक गणितको संकेतसमेत गरेको छ ।

    अब दुवै पक्षबीच निर्णायक संवाद सुरु हुन्छ वा विवाद थप लम्बिँदै जान्छ भन्ने विषयले कांग्रेसको आगामी राजनीतिक दिशा मात्र होइन, पार्टीको आधिकारिकता र नेतृत्वको प्रश्नलाई समेत प्रभावित गर्ने देखिन्छ ।



    फास्ट न्युज    
  • २०८३ भाद्र २६, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट