काठमाडौं, साउन २१ — नेपाली कांग्रेसभित्रको इतर समूहले साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा हुने राष्ट्रिय भेलाका लागि प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन तयार गर्ने जिम्मेवारी पूर्वउपसभापति विमलेन्द्र निधिलाई दिएको छ।
भेलाको तयारीलाई व्यवस्थित बनाउन गठन गरिएको ५५१ सदस्यीय मूल आयोजक समितिअन्तर्गत ३२ उपसमिति गठन गरिएको छ। तीमध्ये सबैभन्दा महत्वपूर्ण मानिएको राजनीतिक प्रस्ताव (प्रतिवेदन) तयारी समितिको संयोजकमा निधिलाई चयन गरिएको हो।
समूहले सार्वजनिक गरेको जिम्मेवारी बाँडफाँटअनुसार संगठनात्मक प्रस्ताव तयारी समितिको नेतृत्व पूर्वसहमहामन्त्री उमाकान्त चौधरीले गर्नेछन् भने समसामयिक प्रस्ताव तयारी समितिको संयोजकमा एनपी साउद रहेका छन्। विधान समितिको नेतृत्व रमेश लेखक र आर्थिक नीति समितिको संयोजकमा डा. प्रकाशशरण महतलाई जिम्मेवारी दिइएको छ।
राजनीतिक प्रतिवेदनलाई राष्ट्रिय भेलाको मुख्य दस्तावेजका रूपमा हेरिएको छ। यही प्रतिवेदनमार्फत इतर समूहले पार्टीको वर्तमान राजनीतिक अवस्था, संगठनको दिशा र आगामी रणनीतिबारे आफ्नो धारणा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।
डा. शशांक कोइरालाको संयोजकत्वमा रहेको मूल आयोजक समितिले प्रचार–प्रसार, व्यवस्थापन, प्रदेश समन्वय, महिला, युवा, भातृ संस्था तथा शुभेच्छुक संस्थालगायत विभिन्न क्षेत्रका लागि छुट्टाछुट्टै उपसमिति गठन गरी तयारीलाई तीव्र बनाएको छ।
आगामी राष्ट्रिय भेलालाई नेपाली कांग्रेसभित्र इतर समूहको राजनीतिक शक्ति, संगठनात्मक एकता र आगामी महाधिवेशन केन्द्रित रणनीति प्रस्तुत गर्ने महत्वपूर्ण मञ्चका रूपमा हेरिएको छ।
प्रतिक्रिया