काठमाडौं । नेपाली कांग्रेसको आगामी महाधिवेशनलाई लिएर देउवा र गगन थापा समूहबीच विवाद चर्किरहेका बेला कांग्रेस नेता प्रकाशशरण महतले देउवा नेतृत्वले गर्ने महाधिवेशन नै कांग्रेसको आधिकारिक महाधिवेशन हुने दाबी गरेका छन्।
नेपाली रामेछाप जिल्लाले आयोजना गरेको देउवा पक्षको छुट्टै भेलालाई सम्बोधन गर्दै महतले कांग्रेसको इतिहास, पार्टीको विधि–विधान र कानुनी प्रक्रियाअनुसार हेर्दा देउवा नेतृत्वबाट अघि बढ्ने महाधिवेशनले नै वैधानिकता पाउने जिकिर गरे।
उनले निर्वाचन आयोगले गरेको निर्णयमा त्रुटि रहेको दाबी गर्दै सर्बोच्च अदालतमा पुनरावलोकनो लागि दिएको निवेदनमा आफुहरुले निस्सा पाएकाले अब न्याय पाउने बताए। अदालतबाट त्यसको अन्तिम निकास आएपछि कानून, विधि र पार्टी विधानअनुसार देउवा नेतृत्वकै कांग्रेस वैधानिक र आधिकारिक हुने महतको दाबी छ।
महतले गगन थापाको नेतृत्वसम्बन्धी तर्कमाथि पनि कडा प्रश्न उठाए। थापाले पुराना नेताहरूको अनुहार देखाएर निर्वाचनमा जाँदा कांग्रेसले चुनाव हार्ने भन्दै नयाँ पुस्ताको नेतृत्व आवश्यक रहेको बताउँदै आएको उल्लेख गर्दै ‘पुरानो अनुहारका कारण कांग्रेस हार्छ’ भन्ने तर्क आफैंमा विरोधाभासपूर्ण भएको बताए।
उनका अनुसार पुराना नेताहरूलाई देखाएर चुनाव हारिने दाबी गर्ने थापा आफ्नै नेतृत्वमा निर्वाचनमा जाँदा पनि पराजित भएका छन्। त्यसैले अरूलाई पुरानो अनुहार भन्दै नेतृत्वबाट पन्छाउन खोज्नु र आफूलाई विकल्पका रूपमा प्रस्तुत गर्नु व्यवहारिक तथ्यसँग मेल नखाने महतको टिप्पणी थियो।
‘पुराना अनुहार देखाएर चुनाव हारिन्छ भन्नेले आफ्नै नेतृत्वमा चुनाव लड्दा के परिणाम आयो ?’ भन्दै महतले गगन थापाका यस्ता अभिव्यक्तिलाई हावादारी, भ्रमपूर्ण र राजनीतिक रूपमा विरोधाभासपूर्ण भएको टिप्पणी गरे।
कांग्रेसको नेतृत्व र आधिकारिक महाधिवेशनको विषय अब राजनीतिक दाबी–प्रतिदाबीबाट मात्र नभई पार्टी विधान, कानुनी प्रक्रिया र सर्वोच्च अदालतबाट हुने निर्णयसँग जोडिएको महतको भनाइ थियो।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया