काठमाडौं । काठमाडौं महानगरपालिकाका तत्कालीन इन्जिनियर रामबाबु महतो (कोइरी) सहित चारजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ।
भ्रष्टाचारबाट आर्जित गैरकानुनी रकम नातागोताका नाममा राखी त्यसलाई विभिन्न माध्यमबाट वैध देखाउने प्रयास गरेको ठहर गर्दै अख्तियारले शुक्रबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।
मुद्दा दायर गरिएका अन्य प्रतिवादीमा महतोकी श्रीमती मालाकुमारी महतो, साली रीना कुशवाहा र साढुभाइ कृष्णप्रसाद मेहता छन्।
अख्तियारले मुख्य प्रतिवादी रामबाबु महतो र उनकी पत्नी मालाकुमारीविरुद्ध जनही ४ करोड ४८ लाख ७९ हजार ८४१ रुपैयाँ बिगो दाबी गरेको छ। उनीहरूलाई मनी लाउण्डरिङ निवारण ऐनबमोजिम बिगोको दोब्बर जरिवाना, कैद सजाय तथा अवैध सम्पत्तिबाट खरिद गरिएका जग्गा जफत गर्न माग गरिएको छ।
त्यस्तै, गैरकानुनी सम्पत्ति लुकाउन, सम्पत्तिको स्रोत परिवर्तन गर्न तथा जग्गा खरिदमा सहयोग पुर्याई मतियारको भूमिका निर्वाह गरेको आरोपमा रीना कुशवाहा र कृष्णप्रसाद मेहताविरुद्ध मुख्य कसुरदारलाई हुने सजायको आधा सजाय मागदाबी गरिएको छ।
अख्तियारका अनुसार इन्जिनियर महतोले भ्रष्टाचारबाट आर्जन गरेको रकम आफू, श्रीमती, साली र साढुभाइका बैंक तथा सहकारी खातामा जम्मा गरेका थिए। त्यसपछि वास्तविक मूल्यभन्दा कम थैली राखी नगद तथा चेकमार्फत जग्गा खरिद गर्ने र सहकारी तथा बैंक कर्जा तथा बैनाबट्टा कागजको आवरण खडा गरी तहगत कारोबार गर्ने गरेको अनुसन्धानबाट खुलेको आयोगको दाबी छ।
आयोगका अनुसार गैरकानुनी रकमलाई मुद्दती निक्षेपमा राखी त्यसबाट प्राप्त ब्याजलाई आम्दानीको वैधानिक स्रोतका रूपमा देखाउने प्रयाससमेत गरिएको थियो। यसरी विभिन्न कारोबार र कागजी प्रक्रिया प्रयोग गरी गैरकानुनी रूपमा आर्जित सम्पत्तिलाई वैध सम्पत्तिका रूपमा देखाउने प्रयास भएको अख्तियारको निष्कर्ष छ।
महतोविरुद्ध यसअघि पनि गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर भइसकेको छ। अख्तियारले २०८२ जेठ २६ गते ४ करोड ५८ लाख ९७ हजार ४०३ रुपैयाँ बिगो दाबीसहित दायर गरेको उक्त मुद्दा अहिले पनि विचाराधीन रहेको छ।
यसपटक भने भ्रष्टाचारबाट आर्जित भनिएको रकमलाई नातागोताका बैंक तथा सहकारी खातामार्फत घुमाएर जग्गा खरिद तथा अन्य कारोबारमा प्रयोग गरी स्रोत लुकाएको आरोपमा महतोसहित चारजनामाथि सम्पत्ति शुद्धीकरणको मुद्दा अघि बढाइएको हो।
प्रतिक्रिया