काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशिष्ट व्यक्तिहरू (भीआईपी)लाई बिना कारण पक्राउ गर्ने प्रवृत्ति तत्काल रोक्न सरकारलाई चेतावनी दिएका छन् । यस्तो प्रवृत्ति जारी रहे सरकार आफैंले ठूलो मूल्य चुकाउनुपर्ने उनको भनाइ छ ।
सोमबार संघीय संसद् भवन, सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले पछिल्लो समय भएका पक्राउका घटनालाई लिएर सरकारको नियतमाथि प्रश्न उठाए ।
‘छोरी पिटेर बुहारी तर्साउने’ जस्तो नियत राखेर भीआईपीलाई पक्राउ गरिएको हो भने त्यसको परिणाम सरकारकै लागि घातक हुने उनले बताए ।
प्रचण्डले पछिल्लो समय ‘सुरक्षा थ्रेट’को कारण देखाउँदै गरिएका पक्राउ औचित्यपूर्ण नदेखिएको दाबी गरे । वास्तविक सुरक्षा जोखिम रहेको भए सम्बन्धित व्यक्तिलाई पक्राउ गर्नुभन्दा सुरक्षा व्यवस्था थप कडा बनाएर व्यवस्थापन गर्नुपर्ने उनको तर्क छ ।
‘यदि साँच्चै सुरक्षा खतरा थियो भने पक्राउ गर्नुको साटो सुरक्षा व्यवस्था कडा बनाउनु उपयुक्त हुन्थ्यो,’ उनले भने ।
यस्ता घटना आगामी दिनमा दोहोरिन नदिन सरकारको ध्यानाकर्षण गराउँदै प्रचण्डले घटनासँग सम्बन्धित तथ्यहरू क्रमशः सार्वजनिक हुँदै जाने बताए ।
यसैबीच, संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीले व्यक्त गरेको धारणाबारे प्रतिक्रिया दिँदै प्रचण्डले वर्तमान परिस्थितिमा प्रधानमन्त्रीले उठाएका विषयलाई स्वाभाविक र उपयुक्त रहेको बताएका छन् ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया