काठमाडौं । नेपाल पत्रकार महासङ्घले नेपाल प्रेस काउन्सिलका चार सदस्यले काउन्सिलको लेटरहेड प्रयोग गरी जारी गरेको व्यक्तिलक्षित विज्ञप्तिप्रति गम्भीर आपत्ति जनाएको छ।
महासङ्घले काउन्सिलका पूर्व लेखा समिति संयोजक दीपक पाण्डेलाई लक्षित गरी जारी गरिएको विज्ञप्ति फिर्ता लिन माग गरेको हो। महासङ्घका महासचिव रामप्रसाद दाहालले बुधबार जारी गरेको विज्ञप्तिमा काउन्सिलजस्तो सन्तुलनकारी निकायको नाममा आएको एकपक्षीय वक्तव्यले वातावरण थप असहज बनाउने उल्लेख छ।
महासङ्घका अनुसार स्वरोजगारमूलक छापामाध्यमले पाउँदै आएको लोककल्याणकारी विज्ञापनको रकम आधासम्म कटौती भएपछि उत्पन्न समस्या समाधानका विषयमा मंगलबार महासङ्घ र प्रेस काउन्सिलबीच छलफल भएको थियो। छलफलका क्रममा सामान्य भनाभन भए पनि बैठक हार्दिकतापूर्वक सम्पन्न भएको महासङ्घको दाबी छ।
छलफलमा सहभागी नै नभएका काउन्सिलका चार सदस्यले संयुक्त हस्ताक्षर गरी व्यक्तिलक्षित विज्ञप्ति जारी गरेको भन्दै महासङ्घले आपत्ति जनाएको छ। समस्या समाधानका लागि सहमति जनाएको काउन्सिलकै नाममा छलफलमा सहभागी नभएका सदस्यबाट एकपक्षीय वक्तव्य आउनुले काउन्सिलको भूमिकामाथि प्रश्न उठेको महासङ्घको भनाइ छ।
यसअघि काउन्सिलका सदस्यहरू नम्रता शर्मा, रविराज बराल, उपासना घिमिरे र प्रकाशभक्त माथेमाले संयुक्त विज्ञप्ति जारी गर्दै मंगलबारको छलफलमा पत्रकार दीपक पाण्डेले काउन्सिलका अध्यक्षलाई धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका थिए।
उनीहरूले पाण्डेले अध्यक्षलाई ‘झ्यालबाट टिपेर फालिदिन्छु’ लगायतका अभिव्यक्ति दिएको दाबी गरेका छन्। छापामाध्यम बचाउ सुझाव कार्यदलका मागबारे अध्यक्षको कार्यकक्षमा छलफल भइरहेका बेला अन्य सहभागीबाट काउन्सिलका कर्मचारीप्रति समेत अपमानजनक व्यवहार भएको भन्दै चार सदस्यले त्यसको भर्त्सना गरेका थिए।
महासङ्घले भने उक्त घटनालाई काउन्सिलका चार सदस्यले एकपक्षीय रूपमा प्रस्तुत गरेको भन्दै विज्ञप्ति फिर्ता लिएर सहज वातावरण निर्माण गर्न काउन्सिलको ध्यानाकर्षण गराएको छ।

© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया