काठमाडौं । आज साउन १५ गते देशभर खीर खाएर पर्व मनाइँदै छ। नेपाली समाजमा असार १५ मा दहीचिउरा र साउन १५ मा खीर खाने परम्परा लामो समयदेखि चलिआएको सांस्कृतिक अभ्यास हो।
वर्षायाममा गाई–भैँसीले प्रशस्त दूध दिने भएकाले यही समयमा दूध, चामल, चिनी र मरमसलाबाट बनाइने खीर खाने चलन बसेको विश्वास गरिन्छ। पोषिलो र सात्विक भोजन मानिने खीर स्वास्थ्यका लागि पनि लाभदायक मानिन्छ।
धर्मशास्त्रअनुसार संस्कृतमा ‘पायस’ भनिने खीरलाई सात्विक आहारमध्ये उत्कृष्ट मानिन्छ। पितृकार्य, श्राद्ध तथा देवकार्यमा यसको विशेष महत्व रहेको धर्मशास्त्रविद्हरू बताउँछन्। श्राद्धका अवसरमा गाईको दूधबाट पायस बनाउने परम्परा अहिले पनि कायम छ।
साउन महिना भगवान् शिवको महिना मानिने भएकाले शिवलाई दूध तथा दूधबाट बनेका परिकार अर्पण गर्ने परम्परा पनि छ। यही धार्मिक विश्वाससँग जोडिएर साउन १५ मा खीर खाने चलन विकास भएको मानिए पनि यसको स्पष्ट शास्त्रीय आधार भने उल्लेख गरिएको छैन।
नेपाली बृहत् शब्दकोषले खीरलाई दूधमा चामल, चिनी र मसला हालेर पकाइने स्वादिष्ट खाद्य पदार्थ अर्थात् ‘पायस’ वा ‘तस्मै’का रूपमा परिभाषित गरेको छ। आयुर्वेदमा पनि खीरलाई प्राचीन तथा पौष्टिक भोजनका रूपमा वर्णन गरिएको छ। ‘खीर’ शब्द संस्कृतको ‘क्षीर’ अर्थात् दूधबाट उत्पन्न भएको मानिन्छ।
नेपाली समाजमा ऋतु र महिनाअनुसार विशेष परिकार खाने परम्परा रहिआएको छ। असार १५ मा दहीचिउरा, साउन १५ मा खीर, भदौ १५ मा पोलेको मकै, पुस १५ मा घिउ–खट्टे र माघ १५ मा मालपुवा बनाएर इष्टमित्र तथा छोरीचेलीलाई बोलाई सँगै खाने चलन आज पनि जीवित छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया