काठमाडौं। सुनसरी र सिरहामा पछिल्ला दिनमा भएका हिंसात्मक घटनापछि उत्पन्न राष्ट्रिय परिस्थितिका बीच प्रधानमन्त्री बालेन शाहले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।
प्रधानमन्त्री निकट स्रोतका अनुसार सम्बोधनको तयारी अन्तिम चरणमा पुगेको छ। सुनसरीको देवानगञ्जमा भएको साम्प्रदायिक तनाव तथा त्यसलगत्तै सिरहामा प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि देशका विभिन्न स्थानमा चासो र चिन्ता बढिरहेका बेला प्रधानमन्त्रीले राष्ट्रलाई सम्बोधन गर्न लागेका हुन्।
प्रधानमन्त्रीको सम्बोधनमा पछिल्ला घटनाबारे सरकारको धारणा, शान्ति–सुरक्षा कायम गर्न चालिएका कदम, प्रभावित क्षेत्रमा भइरहेको सुरक्षा व्यवस्थापन तथा नागरिकलाई संयम अपनाउन गरिएको आग्रह समेटिने अपेक्षा गरिएको छ। साथै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कानुनअनुसार कारबाही हुने प्रतिबद्धता पनि व्यक्त हुने सम्भावना रहेको स्रोतले जनाएको छ।
सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडपपछि कर्फ्यू जारी गरिएको थियो भने नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त रूपमा सुरक्षा निगरानी बढाएका छन्। त्यसैगरी सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर औरही गाउँपालिका–२ का २० वर्षीय गणेश यादवको मृत्यु भएको थियो। घटनापछि स्थानीयले शव सडकमै राखेर प्रदर्शन गरेका छन् भने गोलबजारस्थित एबी मलमा आगजनीसमेत भएको छ। स्थिति नियन्त्रणमा लिन प्रशासनले विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी गरी थप सुरक्षा बल परिचालन गरेको छ।
लगातार दुई जिल्लामा भएका हिंसात्मक घटनाले सुरक्षा चुनौती बढिरहेका बेला प्रधानमन्त्रीको सम्बोधनलाई सरकारले सार्वजनिक गर्ने औपचारिक धारणा र आगामी रणनीतिको संकेतका रूपमा हेरिएको छ। प्रधानमन्त्रीको सम्बोधनको समय भने औपचारिक रूपमा सार्वजनिक गरिएको छैन।
प्रतिक्रिया