सिरहा। प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि सिरहाको अवस्था थप तनावग्रस्त बनेको छ। बिहीबार बिहानदेखि प्रदर्शनले उग्र रूप लिएपछि प्रशासनले जिल्लाका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ भने प्रदर्शनकारीले गोलबजारस्थित एबी मलमा आगजनी गरेका छन्।
प्रशासनका अनुसार गोलबजारमा प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर औरही गाउँपालिका–२ तुलसीपुरका २० वर्षीय गणेश यादवको मृत्यु भएको हो। घटनामा घाइते भएका सुभाष ठाकुरलाई घाँटीमा गोली लागेपछि प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको छ।
गोलीकाण्डपछि आक्रोशित स्थानीयले मृतक गणेश यादवको शव सडकमै राखेर विरोध प्रदर्शन गरिरहेका छन्। प्रदर्शनका कारण गोलबजारसहित आसपासका क्षेत्रमा सुरक्षा चुनौती बढेको छ।
यसैबीच गोलबजारस्थित सिरहा सुपरमार्केटद्वारा सञ्चालित एबी मल प्रदर्शनकारीको निशानामा परेको छ। प्रदर्शन उग्र बन्दै गएपछि मलमा आगजनी गरिएको छ। आगलागीबाट भएको क्षतिको विवरण भने सार्वजनिक भइसकेको छैन।
स्थिति नियन्त्रणबाहिर जाने संकेत देखिएपछि जिल्ला प्रशासनले जिल्लाका विभिन्न संवेदनशील क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको छ भने थप सुरक्षाकर्मी परिचालन गरी अवस्था नियन्त्रणमा लिने प्रयास भइरहेको छ।
प्रहरीले गोली चलाउनुपर्ने अवस्था कसरी सिर्जना भयो र आगजनीमा संलग्न व्यक्तिको पहिचानबारे अनुसन्धान जारी रहेको जनाएको छ। जिल्लाको समग्र सुरक्षा अवस्था अझै तनावपूर्ण रहेकाले स्थानीयलाई प्रशासनको निर्देशन पालना गर्न आग्रह गरिएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया