logo

२०८३ श्रावण १५ शुक्रबार

logo
  • २०८३ श्रावण १५ शुक्रबार
  • देवानगञ्ज घटनाको असर सप्तरीसम्म, राजविराजमा पनि अनिश्चितकालीन कर्फ्यु

    715Shares
    देवानगञ्ज घटनाको असर सप्तरीसम्म, राजविराजमा पनि अनिश्चितकालीन कर्फ्यु

    राजविराज । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनाको प्रभाव अब मधेश प्रदेशका अन्य जिल्लामा समेत फैलिन थालेको छ। त्यसकै सुरक्षात्मक व्यवस्थापनस्वरूप जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज क्षेत्रमा पनि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

    जिल्ला सुरक्षा समितिको निर्णयअनुसार शुक्रबार बिहान ८ बजेदेखि अर्को आदेश नभएसम्म राजविराज नगरका संवेदनशील क्षेत्रमा कर्फ्यु लागू गरिएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिएका छन्।

    प्रशासनका अनुसार कर्फ्युको क्षेत्र पूर्वमा खाँडो खोला, पश्चिममा हुलाकी राजमार्गअन्तर्गत जमुनी–थलही, उत्तरमा रुपनी रोडस्थित बसविट्टी चोक र दक्षिणमा कोशी पश्चिम मूल नहरसम्म तोकिएको छ। तोकिएको क्षेत्रमा आवतजावत तथा कुनै पनि प्रकारका गतिविधि निषेध गरिएको छ।

    प्रमुख जिल्ला अधिकारी थापाले जारी गरेको आदेशमा कर्फ्यु उल्लङ्घन गर्ने वा गराउने जो–कोहीलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिइएको छ। प्रशासनले सर्वसाधारणलाई अफवाहमा नलाग्न, शान्ति–सुरक्षा कायम राख्न सहयोग गर्न तथा कर्फ्यु आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ।

    यसअघि बिहीबार राति १० बजेदेखि सप्तरीको बोदेबरसाईन नगरपालिकामा पनि अनिश्चितकालीन कर्फ्यु लागू गरिएको थियो। त्यहाँ कर्फ्युको प्रभावकारी कार्यान्वयनका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।

    सुनसरीको देवानगञ्जमा दुई पक्षबीच भएको झडपपछि उत्पन्न तनावको विरोधमा बिहीबार सप्तरीमा प्रदर्शन भएको थियो। त्यसपछि सम्भावित अप्रिय अवस्था नियन्त्रणमा लिन प्रशासनले सुरक्षा सतर्कता थप कडा बनाउँदै कर्फ्युको दायरा राजविराजसम्म विस्तार गरेको हो।



    फास्ट न्युज    
  • २०८३ श्रावण १५, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट