logo

२०८३ श्रावण १४ बिहीबार

logo
  • २०८३ श्रावण १४ बिहीबार
  • हिंसा होइन, संवाद रोजौं’ : प्रधानमन्त्री शाहको देशवासीलाई अपिल

    715Shares
    हिंसा होइन, संवाद रोजौं’ : प्रधानमन्त्री शाहको देशवासीलाई अपिल

    1. प्रधानमन्त्री बालेन्द्र शाहको राष्ट्रका नाममा सम्बोधनका ५ मुख्य बुँदा:
    2. घटनाप्रति दुःख र श्रद्धाञ्जली
      • सुनसरी र सिराहाका घटनामा ज्यान गुमाएका जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरे।
    3. निष्पक्ष छानबिन र दोषीमाथि कारबाही
      • गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको उल्लेख गर्दै दोषी जोसुकै भए पनि निष्पक्ष अनुसन्धानपछि कानुनबमोजिम कडा कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे।
    4. शान्ति, संयम र राष्ट्रिय एकताको अपिल
      • सबै पक्षलाई हिंसा र प्रतिशोध त्यागेर संयम अपनाउन तथा सामाजिक सद्भाव र राष्ट्रिय एकता जोगाउन आग्रह गरे।
    5. अफवाह र घृणा फैलाउनेविरुद्ध चेतावनी
      • सामाजिक सञ्जालमा अपुष्ट सूचना, भ्रामक सामग्री र घृणा फैलाउने गतिविधिबाट टाढा रहन आग्रह गर्दै यस्ता कार्यमा संलग्नमाथि कडा कारबाही हुने चेतावनी दिए।
    6. सरकार सक्रिय रहेको दाबी
      • राष्ट्रिय सुरक्षा परिषद्ले आवश्यक निर्णय गरिसकेको, गृहमन्त्री प्रभावित क्षेत्रमा पुगिसकेको तथा घाइतेको उपचार र शान्ति–सुरक्षा कायम गर्न सरकारले सबै आवश्यक कदम चालिरहेको जानकारी दिए।
    काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिराहालगायत क्षेत्रमा भएका पछिल्ला हिंसात्मक घटनापछि देशवासीलाई शान्ति, संयम र राष्ट्रिय एकता कायम राख्न आग्रह गरेका छन्। राष्ट्रका नाममा विशेष सम्बोधन गर्दै उनले हिंसा र प्रतिशोधको बाटो छाडेर संवाद र सहकार्यबाट समस्याको समाधान खोज्नुपर्नेमा जोड दिएका हुन्।

    प्रधानमन्त्री शाहले सुनसरी र सिराहाका घटनामा ज्यान गुमाएका जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन्। घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित निकायलाई निर्देशन दिइएको पनि उनले जानकारी दिए।

    घटनाको सत्यतथ्य सार्वजनिक गर्न गृह मन्त्रालयअन्तर्गत छानबिन समिति गठन भइसकेको उल्लेख गर्दै प्रधानमन्त्रीले दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याइने स्पष्ट पारे। उनले छानबिन निष्पक्ष, पारदर्शी र विश्वसनीय हुने विश्वास दिलाए।

    प्रधानमन्त्रीका अनुसार पछिल्लो सुरक्षा अवस्थाबारे राष्ट्रिय सुरक्षा परिषद्को बैठकले आवश्यक निर्णय गरिसकेको छ। प्रभावित क्षेत्रको अवस्थाबारे प्रत्यक्ष अनुगमन गर्न र पीडित परिवारसँग भेटघाट गर्न गृहमन्त्रीलाई घटनास्थलमा पठाइएको पनि उनले बताए।

    सम्बोधनमा प्रधानमन्त्रीले सामाजिक सञ्जालमा फैलाइने अपुष्ट सूचना, भ्रामक सामग्री र घृणा फैलाउने गतिविधिप्रति विशेष चिन्ता व्यक्त गरे। आधिकारिक स्रोतबाट पुष्टि भएका सूचनामात्र विश्वास गर्न आग्रह गर्दै उनले सामाजिक सद्भाव भड्काउने र अराजकता फैलाउने जोसुकैमाथि कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिए।

    ‘कुनै पनि धर्मले हिंसा, घृणा वा विभाजन सिकाउँदैन। सबै धर्मको मूल सन्देश शान्ति, करुणा र मानवता हो,’ भन्दै प्रधानमन्त्री शाहले नेपालको बहुजातीय, बहुभाषिक र बहुधार्मिक पहिचानलाई जोगाउनु सबै नेपालीको साझा दायित्व भएको उल्लेख गरे।

    पछिल्ला दिनमा सुनसरी र सिराहामा भएका घटनाले सामाजिक सद्भावमा चुनौती थपिएको बेला प्रधानमन्त्रीको सम्बोधनलाई सरकारको औपचारिक धारणा मात्र नभई शान्ति, सुरक्षा र सामाजिक विश्वास पुनःस्थापनाको प्रतिबद्धताका रूपमा पनि हेरिएको छ।

    सम्बोधनको  पूर्णपाठ

    नमस्कार। आदरणीय बुवाआमा, दिदीबहिनी तथा दाजुभाइहरु। म आज एक अत्यन्त संवेदनशील घडीमा तपाईहरु सामु उपस्थित भएको छु। केही दिन अघि सुनसरीको देवानगन्ज, सिरहा लगायतका स्थानमा भएको दुखद घटना र त्यसपछिका केही जिल्लाहरुमा उत्पन्न अशान्त वातावरणलाई लिएर नेपाल सरकार पूर्ण रुपमा गम्भीर र संवेदनशील छ। यस दुखद घटनामा परी निधन हुनुभएका हाम्रा नागरिकहरु जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। साथै शोक सन्तप्त परिवारजनहरुमा नेपाल सरकारका तर्फबाट गहिरो समवेदना व्यक्त गर्दछु।

    घटनामा परी घाइते हुनुभएका सम्पूर्ण नागरिकहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। घाइतेहरुको उपचारमा कुनै पनि प्रकारको कमी वा ढिलाई हुन नदिन सम्बन्धित स्वास्थ्य निकायहरुलाई स्पष्ट निर्देशन दिइसकेको छ।

    घटना भए लगतै सबै सुरक्षा निकायहरुले तत्काल घटनास्थलमा पुगेर परिस्थितिलाई सामान्य बनाउने, थप अप्रिय घटना हुन नदिने र शान्ति सुरक्षा कायम गर्ने प्रयास निरन्तर गरिरहेका छन्। घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको छ। म सबैमा विश्वास दिलाउन चाहन्छु कि यो छानबिन पूर्ण रुपमा निष्पक्ष र पारदर्शी हुनेछ। घटनामा संलग्न दोषी जो कोही भएपनि कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ। अवस्था थप नबिग्रियोस्, कुनै पनि नागरिकको जनधनको क्षति हुन नपाओस् र स्थानीय स्तरमा विश्वासको वातावरण बनोस् भन्नका लागि नेपाल सरकार निरन्तर क्रियाशील छ।

    परिस्थिति सामान्यीकरण गर्न केन्द्र स्तरमा सर्वदलीय बैठक आह्वान गरी गहन छलफल गरिएको छ। स्थानीय तहसम्मै जनप्रतिनिधि, नागरिक समाज, विभिन्न धार्मिक गुरुहरु, समुदायका अगुवा तथा सामाजिक व्यक्तित्वहरुसँग निरन्तर संवाद भइरहेको छ। स्थानीय स्थितिको प्रत्यक्ष अनुगमन गर्न, पीडित पक्षसँग संवाद गर्न र शान्ति सुरक्षालाई थप सुदृढ बनाउन गृहमन्त्री स्वयम् सो स्थानमा पुगिसक्नुभएको छ। साथै देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे गम्भीर समीक्षा गर्न राष्ट्रिय सुरक्षा परिषदको बैठक बसी परिस्थिति अनुसारका आवश्यक निर्णयहरु समेत गरिसकिएको छ।

    यस्तो संवेदनशील घडीमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य, अपुष्ट सूचना, अफवाह, घृणा फैलाउने सामग्री वा समुदाय बीच वैमनस्य बढाउने अभिव्यक्ति प्रचारप्रसार नगर्न, नगराउन अनुरोध गर्दछु। साथै सरकारी निकायहरुबाट जारी भएका आधिकारिक तथ्य र सूचना मात्र विश्वास गर्न विशेष आग्रह गर्दछु।

    प्रत्येक नागरिकको जिउधनको रक्षा गर्नु, सामाजिक सद्भाव जोगाउनु र समाजमा शान्ति कायम राख्नु राज्यको सर्वोच्च र प्राथमिक दायित्व हो। आगामी दिनमा पनि राज्य थप सतर्क र संवेदनशील रहनेछ। प्रत्येक नागरिकको जीवन सुरक्षाका लागि सरकारका सम्पूर्ण संयन्त्रहरु अहोरात्र खटिनेछन्। शान्ति सुरक्षा भंग गर्ने, अराजकता फैलाउने वा हाम्रो सदियौं पुरानो सामाजिक सद्भाव, सहिष्णुता र भाइचारा खलबलाउने कुनै पनि क्रियाकलाप प्रति सरकार पूर्ण रुपमा सचेत छ र यस गतिविधिमाथि कडा कदम चालिने छन्।

    नेपालको संविधानले प्रत्येक नागरिकलाई आ-आफ्नो धर्म, संस्कृति र परम्परा मान्ने मौलिक हक प्रदान गरेको छ। यो संवैधानिक दायित्व निर्वाह गर्न सरकार पूर्ण रुपमा प्रतिबद्ध छ। धर्म समाजलाई आपसमा जोड्ने र प्रेम बाँड्ने शक्ति हो। संसारको कुनै
    पनि धर्म वा संस्कृतिले हिंसा, घृणा र विभाजन सिकाउँदैन। सबै धर्मको मूल सार करुणा, दया, प्रेम र शान्ति नै हो।

    देशको कुनै एक स्थानमा भएको अनपेक्षित र दुखद घटनालाई लिएर कुनै सिंगो समुदायलाई आरोपित गर्नु र देशका अन्य भूभागमा समेत त्यसको प्रतिशोधको आगो फैलाउनु कुनै पनि दृष्टिकोणबाट न्यायोचित वा न्यायसंगत हुन सक्दैन।

    आदरणीय बुवाआमा, दिदीबहिनी तथा दाजुभाइहरु, हाम्रो इतिहास साक्षी छ कठिन भन्दा कठिन र अप्ठ्यारो परिस्थितिमा पनि आपसी एकता, सहिष्णुता र विवेक नै हाम्रो सबै भन्दा ठुलो शक्ति बनेका छन्। हामी सबैले जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्दै यो सुन्दर र शान्त नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउनु पर्नेछ।

    (मैथिली भाषामा): हम आम नागरिक, नागरिक समाज, धार्मिक समुदाय, सब आदरणीय अगुवा, सब राजनीतिक दल आ जिम्मेवार संचार के माध्यम सब के धैर्यता आ संयमता अपनाके शान्ति, सदभाव, भाइचारा आ राष्ट्रिय एकता कायम राखके लेल सरकार के तर्फ से हार्दिक अपील करहल छी। धन्यवाद।



    फास्ट न्युज    
  • २०८३ श्रावण १४, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट