logo

२०८३ श्रावण १५ शुक्रबार

logo
  • २०८३ श्रावण १५ शुक्रबार
  • देवानगञ्ज गोलीकाण्डमा सहमतिपछि तनाव मत्थर, आन्दोलन स्थगित गर्दै पीडितले शव बुझ्ने

    715Shares
    देवानगञ्ज गोलीकाण्डमा सहमतिपछि तनाव मत्थर, आन्दोलन स्थगित गर्दै पीडितले शव बुझ्ने

    काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा १० साउनमा भएको गोलीकाण्डपछि उत्पन्न तनाव अन्ततः सरकार र पीडित परिवारबीच भएको ७ बुँदे सहमतिसँगै साम्य हुने संकेत देखिएको छ। सहमतिपछि पीडित परिवारले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गर्ने निर्णय गरेका छन् भने अस्पतालमा राखिएका मृतकद्वयको शव पनि आजै बुझ्ने भएका छन्।

    बिहीबार रातिदेखि निरन्तर चलेको वार्तापछि शुक्रबार बिहान करिब ५ बजे गृहमन्त्री सुधन गुरुङ र पीडित परिवारबीच लिखित सम्झौता भएको हो। सम्झौतापत्रमा गृहमन्त्री गुरुङसँगै मृतक ओमप्रकाश मेहताका अभिभावक कुशदेव मेहता र जयप्रकाश मेहताका अभिभावक नरेश मेहताले हस्ताक्षर गरेका छन्।

    सहमतिअनुसार सरकारले मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने भएको छ। साथै, दुवै परिवारलाई जनही १० लाख रुपैयाँ राहत उपलब्ध गराइनेछ। प्रत्येक परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने प्रतिबद्धतासमेत सरकारले जनाएको छ।

    सहमतिपछि पीडित परिवारले अस्पतालमा रहेका शव बुझ्ने निर्णय गरेका छन्। मृतकद्वयको अन्त्येष्टि आज दिउँसो २ बजे गरिने तयारी गरिएको छ।

    सरकार र पीडित परिवारबीच सहमति भएसँगै देवानगञ्ज घटनापछि चर्किएको विवाद समाधानतर्फ उन्मुख भएको देखिएको छ। अब सहमतिमा उल्लेख गरिएका प्रतिबद्धताहरू कार्यान्वयनमा कसरी अघि बढाइन्छ भन्ने विषयलाई सबै पक्षले चासोका साथ हेरेका छन्।



    फास्ट न्युज    
  • २०८३ श्रावण १५, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट