सुर्खेत, सुर्खेतमा एक महिला कर्मचारीको मृत्यु घटनामा अनुसन्धान गर्दै प्रहरीले जिल्ला प्रशासन कार्यालय सुर्खेतमा कार्यरत एक नायब सुब्बालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय सुर्खेतका नायब सुब्बा कविलाल विसी रहेका छन्। उनीमाथि आत्महत्या दुरुत्साहनसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार वीरेन्द्रनगरस्थित एकीकृत कृषि प्रयोगशालामा कार्यरत २७ वर्षीया चन्द्रा सिंह शनिबार बिहान प्रयोगशालाकै आवासगृहको बाथरुममा बेहोस अवस्थामा भेटिएकी थिइन्। उनका श्रीमान् महेश बस्नेतले तत्काल प्रदेश अस्पताल कालागाउँ पुर्याए पनि उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनापछि मृतकका श्रीमान्ले दिएको उजुरीका आधारमा प्रहरीले विसीलाई वीरेन्द्रनगरको खजुरा क्षेत्रबाट पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनजंग बोहोराका अनुसार आत्महत्या दुरुत्साहनको कसुरमा उनीमाथि अनुसन्धान भइरहेको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका विसी र चन्द्राबीच शंकास्पद सन्देश (च्याट) आदानप्रदान भएको देखिएको प्रहरीले जनाएको छ। ती सन्देशका आधारमा विसीले चन्द्रालाई ब्ल्याकमेल गरेको हुन सक्ने आशंकासमेत रहेको र त्यसतर्फ अनुसन्धान केन्द्रित गरिएको प्रहरीको भनाइ छ।
मृतक चन्द्रा सिंह जाजरकोटको कुशे गाउँपालिका–९ पैँककी स्थायी बासिन्दा हुन्। उनको विवाह जाजरकोटकै भेरी नगरपालिका–१ कालेगाउँमा भएको थियो। उनी एकीकृत कृषि प्रयोगशालामा सहायक स्तर चौथो तहमा कार्यरत थिइन्। उनका एक छोरी रहेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाका सबै पक्षमाथि गम्भीरतापूर्वक अनुसन्धान जारी रहेको जनाएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया