खोटाङ। खोटाङको रावा बेसी गाउँपालिका–६ हौंचुरका सामाजिक सुरक्षा भत्ता लाभग्राहीले अब काठमाडौंमै बसेर सामाजिक सुरक्षा भत्ताको नवीकरण गर्न सक्ने भएका छन्।
वडा कार्यालयले सूचना जारी गर्दै आर्थिक वर्ष २०८३/८४ का लागि सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न काठमाडौंमा सेवा केन्द्रको व्यवस्था गरेको हो। गत वर्षकै स्थान हलेसी गेष्ट हाउस एण्ड क्याफे, चाबहिलमा भदौ १२ गते शुक्रबारदेखि १५ गते सोमबारसम्म नवीकरण सेवा उपलब्ध हुने वडाले जनाएको छ।
शारीरिक अवस्थाका कारण गाउँसम्म पुग्न कठिन हुने, बाटोघाटोको असुविधा तथा काम विशेषले गाउँ जान नसक्ने हौंचुरवासीलाई सहजता र राहत पुगोस् भन्ने उद्देश्यले काठमाडौंमै नवीकरणको व्यवस्था गरिएको वडा अध्यक्ष चिरञ्जीवी कार्कीले बताए।
उनका अनुसार काठमाडौंलगायत आसपासका क्षेत्रमा बसोबास गरिरहेका सामाजिक सुरक्षा भत्ता लाभग्राहीलाई गाउँसम्म पुगेर नवीकरण गर्नुपर्ने झन्झट हटाउने उद्देश्यले वडाको पहलमा सेवा काठमाडौंमै उपलब्ध गराइएको हो।
वडा कार्यालयले सम्बन्धित सम्पूर्ण लाभग्राहीलाई तोकिएको मिति र स्थानमा उपस्थित भई सामाजिक सुरक्षा भत्ता नवीकरण गराउन अनुरोध गरेको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया