लहान (सिरहा)। लागूऔषध नियन्त्रण ब्युरोले सिरहाको लहानमा विशेष अपरेशन सञ्चालन गर्दै ६ जनालाई पक्राउ गरेको छ। अपरेशनका क्रममा प्रहरीको गोली चलेको थियो, जसमा एक भारतीय र एक नेपाली नागरिक घाइते भएका छन्।
प्रहरीका अनुसार बिहीबार दिउँसो लहानको हस्पिटल चोक क्षेत्रमा काठमाडौँस्थित लागूऔषध नियन्त्रण ब्युरोको टोलीले लागूऔषध कारोबारमा संलग्न रहेको सूचनाका आधारमा छापा मारेको थियो। अपरेशनका क्रममा परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको जनाएको छ।
घटनापछि पाँच भारतीय र एक नेपाली नागरिकलाई नियन्त्रणमा लिइएको छ। उनीहरूको साथबाट २२५ ग्राम खैरो हिरोइन बरामद भएको प्रहरीले जानकारी दिएको छ।
गोली लागेर घाइते भएका एक भारतीय र एक नेपालीको खुट्टामा चोट लागेको छ। उनीहरूको उपचार भइरहेको छ भने अवस्था सामान्य रहेको बताइएको छ।
प्रहरीले घटनास्थलबाट बरामद लागूऔषधको स्रोत, पक्राउ परेकाहरूको सञ्जाल तथा सीमापार लागूऔषध तस्करीसँगको सम्भावित सम्बन्धबारे अनुसन्धान अघि बढाएको जनाएको छ। पक्राउ परेकाविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा थप कानुनी प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया