खोटाङ। सकारात्मक सोच, सामूहिक श्रम र सहयोगी भावनाले असम्भव मानिएका काम पनि सम्भव हुने सन्देश दिँदै खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा दुई विपन्न परिवारका घर निर्माण गरी हस्तान्तरण गरिएको छ।
श्रम संस्कृति पार्टी बाम्राङ वडा कमिटीको अगुवाइमा श्रमदानमार्फत निर्माण गरिएका कालुमान राई र मणिप्रसाद राईका घर बिहीबार २९ गते श्रम संस्कृति पार्टीका कोशी प्रदेश अध्यक्ष प्रताप राईको प्रमुख आतिथ्यतामा हस्तान्तरण गरिएको हो।
बाम्राङका विनोद चाम्लिङ राईको अगुवाइमा श्रमदाताहरूको सक्रिय सहभागितामा दुवै घर निर्माण सम्पन्न गरिएको हो। घर निर्माण अभियानमा बेलायतमा रहेका प्रेमकुमार राई तथा अमेरिकामा रहेका प्रदीप राईलगायतले आर्थिक सहयोग गरेर अभियानलाई साथ दिएका थिए।
घर हस्तान्तरण कार्यक्रममा बोल्दै श्रम संस्कृति पार्टीका कोशी प्रदेश अध्यक्ष प्रताप राईले सकारात्मक ऊर्जा र सामूहिक प्रयास भए असम्भव भन्ने केही नहुने बताए। उनले श्रमदानबाट दुई विपन्न परिवारका घर निर्माण गरी हस्तान्तरण गर्न सक्नु सामूहिक इच्छाशक्ति र एकताको उदाहरण भएको उल्लेख गरे।
राईले श्रम संस्कृति पार्टीलाई घृणाको दृष्टिकोणबाट नभई सम्भावनाको दृष्टिकोणबाट हेर्न आग्रह गर्दै भने, “आखिर बाटोहरू फरक होलान्, तर उद्देश्य एउटै हो हाम्रो—नेपाली जनतालाई समृद्ध र खुसी बनाउने।”
उनले समाज परिवर्तनका लागि सबैको योगदान महत्त्वपूर्ण हुने बताउँदै सकारात्मक सोच, श्रम र सहकार्यबाट समाजमा उल्लेखनीय परिवर्तन ल्याउन सकिने सन्देशसमेत दिए।
घर हस्तान्तरण कार्यक्रममा श्रम संस्कृति पार्टीका कोशी प्रदेश सदस्य निर्मल राई, जिल्ला अध्यक्ष धनिराम राईलगायत अगुवा श्रमदाताहरूको उपस्थिति थियो।
अभियानका अगुवा विनोद चाम्लिङ राईले घर निर्माणमा श्रमदान गरेर सहयोग गर्ने सम्पूर्ण श्रमदाताहरू तथा देश–विदेशमा रहेर आर्थिक सहयोग र हौसला प्रदान गर्ने सबै सहयोगीप्रति आभार व्यक्त गरे।
“यो महान् कामको सुरुवात मैले गरे पनि यसको सफलतामा सम्पूर्ण श्रमदाता दाजुभाइ, दिदीबहिनी तथा देश–विदेशबाट आर्थिक सहयोग र हौसला प्रदान गर्ने मनका धनी व्यक्तित्वहरूको योगदान छ,” उनले भने, “आजको दिन उहाँहरू सबैलाई सम्मानपूर्वक सम्झन चाहन्छु।”
श्रमदान र आर्थिक सहयोगको संयोजनबाट सम्पन्न यस अभियानले स्थानीयस्तरमा सामूहिक सहकार्यको महत्त्व उजागर गर्नुका साथै विपन्न परिवारलाई सुरक्षित आवास उपलब्ध गराउने कार्यमा समुदायको भूमिका महत्त्वपूर्ण हुने सन्देश दिएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया