काठमाडौं । साफ यू-१९ पुरुष च्याम्पियनसिप २०२५ खेल्न भारत जाने नेपाली फुटबल टोलीको बिदाइ गरिएको छ । सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा एक कार्यक्रम गरी टोलीको बिदाइ गरिएको हो ।सोही क्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङले टोलीमा रहेको सबै खेलाडीहरुलाई आफ्नो कौशलता देखाएर आउन शुभकामना दिएका छन् ।प्रतियोगिता मे ९ देखि १८ सम्म भारतको अरुणाञ्चलस्थित गोल्डेन जुब्ली स्टेडियम, युपियामा आयोजना हुनेछ । ६ टिम सहभागी यस प्रतियोगितालाई २ समूहमा विभाजन गरी खेलाइने छ । नेपालले समूह ‘बी’ मा रहेर प्रतियोगिता खेल्नेछ । समूह ‘बी’मा नेपालसहित भारत र श्रीलंका रहेका छन् । समूह ‘ए’ मा भने माल्दिभ्स, भुटान र बंगलादेश रहेको छ ।
नेपालले अहिलेसम्म दुई पटक यो उमेर समूहको उपाधि जितेको छ । पछिल्लो पटक सन् २०२४ मा नेपालमै भएको साफ यू-२० च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो ।नेपालको साफ यू–१९ खेल्ने टोलीमा गोलकिपरमा भक्त बहादुर परियार, उपेन्द्र ल्वागुङ, विशेष बानिया, डिफेन्डरमा रोशन तामाङ, रोहन मोक्तान, प्रशान्त मोक्तान, कुशहाङ नेम्वाङ, मदन पौडेल, राम थापा, विजय उर्बा, सिद्धान्त खड्का, मिडफिल्डरमा कृष्ण बहादुर आले, कृष थापा मगर, सरोज दर्लामी, लक्षु थापा, सबिन कुमार लुङ्गेली मगर, रञ्जित लामा, सुवास बम, विजय खड्का र फर्वाडमा पवन पाख्रिन, धरवेन्द्र कुँवर, सुरज ढंगोल र प्रसुन तामाङ रहेका छन् ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया